एक नेपाली तेस्रोलिंगी महिलाको रोचक विवाह

एक नेपाली तेस्रोलिंगी महिलाको रोचक विवाह


केन्द्रबिन्दु डेस्क । काठमाडौं, २४ असोज ।

एकजना ४० वर्षीय तेस्रोलिंगी महिलाको २२ वर्षीय पुरुषसँग रोचक ढंगले विवाह भएको छ । यो विवाहले पहिलो पटक नेपालमा कानुनी मान्यता समेत पाएको छ ।

मोनिका शाही नाथ र रमेश नाथ योगीले केही महिना अगाडि आफूलाई विवाह बन्धनमा बाँधेका थिए । उनीहरूले हालै कानुनी रूपमा विवाहको मान्यता पनि पाइसकेका छन् ।


मोनिका शाही नाथको जन्म छोराका रूपमा पश्चिम नेपालमा भएको थियो । मोनिकाले आफ्नो जीवनमा कुनै दिन आफैँ बेहुली बनी बुहारी भएर घरमा भित्रिन्छु भन्ने सोच्न सकेकी थिइनन् । तर उनले नेपालको वैवाहिक जीवनको परम्परामा कानुनी मान्यता पाएर कसैकी श्रीमती र योगी परिवारको बुहारी भएर भित्रिने सौभाग्य पाएकी छिन् ।

२२ वर्षीय योगीसंग विवाह भए पनि उनलाई श्रीमानको घरले बुहारीका रूपमा स्वीकार गर्छन् कि गर्दैनन् भन्ने डर थियो । धेरैजसो तेस्रोलिंगीहरूलाई समाजमा तिरस्कारका नजरले हेरिने नेपाली समाजमा उनलाई बुहारीका रूपमा स्वीकार हुन्छु भन्ने कल्पना गर्नै कठिन भइरहेको थियो । तर समाजको सोचाइभन्दा भिन्न ढंगले उनलाई योगी परिवारले बुहारीका रूपमा स्वीकार गर्यो ।


बाल्यकालमा मनोज नाम रहे पनि उनलाई मोनिकाका रूपमा प्रस्तुत हुन धेरै गाह्रो भएको थियो । उनको भनाइ छ, ‘स्कुलमा म केटीहरूसंग बस्थेँ । मलाई पनि उनीहरूले लगाएकै जस्तै घाँघर लगाउने औधि चाहना थियो ।

‘जब म २० वर्षको भएँ, मैले महिलाको लुगा लगाउने अभ्यास गर्न थालेँ । म दिदीहरूको लुगा चोरेर अर्कै गाउँमा गएर लगाउँथेँ । यसो गर्दा अरू गाउँका मानिसहरूले मलाई महिलाका रूपमा देख्थे । यो क्षणले मलाई खुसी बनाए पनि मेरो परिवारले थाहा पाउछन् कि भन्ने डर मलाई रहिरहन्थ्यो ।’
मोनिकाका अनुसार, ‘जब म तेस्रोलिंगीका अधिकारको क्षेत्रमा काम गर्न थालेँ, अनि परिवारले पनि मलाई बुझ्न थाल्यो । जब म विवाह गरेर रातो साडी र मंगलसूत्रले सजिएर श्रीमानका साथ माइतीघर आएँ, अनि उहाँहरूले मलाई अझ चिन्नुभयो । यो विवाहले मलाई आफ्नो घरमा म महिला नै हो भन्ने कुरालाई अझ प्रमाणित गर्यो ।’


मोनिकाको घरभन्दा ६ घन्टा टाढा योगीको घर छ । योगीको घरमा पनि मोनिकालाई बुहारीका रूपमा स्वीकार गरिसकेका छन् । उनका छिमेकीहरूले भने आफ्नो गाउँमा मोनिका बुहारीका रूपमा भित्रिएकोमा नौलो र अनौठो मानेका छन् ।


रमेशनाथ योगीले तेस्रोलिंगीसंग विवाह गरेर समाजमा रूपान्तरणको प्रयास गरे पनि उनलाई बहुविवाहको अभियोग लाग्न सक्ने सभावना देखिएको छ । योगीले यसअघि नै विवाह गरिसकेका हुन् र दुई सन्तानको पिता समेत भैसकेका छन् । एएफपी

Logo