म्यादी प्रहरी हुने ? आजदेखि भर्ना खुल्यो

म्यादी प्रहरी हुने ? आजदेखि भर्ना खुल्यो


एसके बैश्य । काठमाडौं, २४ असोज ।

आगामी मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि सरकारले म्यादी प्रहरीमा भर्ना खोलेको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार ९८ हजार २ सय ६८ म्यादी प्रहरीका लागि भर्ना आह्वान गरेको हो ।

साधारण लेखपढ गर्न जान्ने, शारीरिक रूपमा तन्दुरुस्त, कुनै दलको सदस्य नभएको र कुनै फौजदारी अभियोग नलागेको १८ देखि ५४ वर्ष उमेरबीचका व्यक्ति म्यादी प्रहरी हुन सक्ने प्रहरी प्रधान कार्यालयद्वारा आज जारी सूचनामा उल्लेख गरिएको छ । भर्ना हुन चाहनेले २४ देखि ३० असोज भित्र फाराम भरिसक्नु पर्नेछ ।

आवेदन फारम नेपाल प्रहरीको वेबसाइट नेपाल पुलिस डट जिओभी डट एनपीमा राखिएको छ । उनीहरूले मासिक १७ हजार २ सय ३० रुपैयाँ तलब पाउनेछन् । म्यादी प्रहरीले ड्रेस, प्रहरी जवानको बराबर तलब र खाजा खर्च समेत पाउनेछन् । निर्वाचनमा खटिने म्यादी प्रहरीको कार्यावधि ५५ दिनका लागि हुनेछ ।

७७ जिल्लाकै जिल्ला प्रहरी कार्यालयमार्फत फारम बुझाउन सकिनेछ । उपत्यकाको हकमा प्रहरी परिसर काठमाडौ, भक्तपुर र ललितपुरमा कार्यालयमार्फत फारम बुझाउन सकिनेछ । तर नवलपरासी र रुकम जिल्लाको आधा–आधा भाग छुट्टा–छुट्टै प्रदेशमा गभिएको हुनाले त्यस जिल्लाकाले साबिक नवलपरासी र रुकम जिल्ला प्रहरी कार्यालयमार्फत फारम बुझाउन सक्ने छन् ।

५ देखि ८ कात्तिकसम्म छनोट हुने र १० कात्तिकमा नतिजा प्रकाशन हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ । १२ देखि २४ कात्तिकसम्म तालिम दिएर उनीहरूलाई निर्वाचनको सुरक्षामा खटाउने तयारी छ ।

अवकाशप्राप्त सुरक्षाकर्मी तथा बनपाले, विगतमा म्यादी प्रहरीका रूपमा काम गरेका तथा गार्डका रूपमा काम गरेकालाई भर्नामा प्राथमिकता दिइने प्रहरीको सूचनामा उल्लेख छ । सरकारले अघिल्लो स्थानीय तहको चुनावमा ७५ हजार म्यादी प्रहरीको भर्ना खोलेको थियो ।

 

Logo