१२ कैदी अझै फरार, नियन्त्रणमा लिन कठिन

१२ कैदी अझै फरार, नियन्त्रणमा लिन कठिन


काठमाडौं, १० असोज । दुई बर्ष अघि आएको विनाशकारी भूकम्पसँगै सिन्धुपाल्चोक कारागारबाट भागेका कैदीमध्ये १२ जना विदेशी नागरिकलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन ।

विभिन्न अभियोगमा कैद सजाय भोगिरहेका फरार स्वदेशी नागरिकलाई प्रहरीले क्रमिकरुपमा पक्राउ गरेपनि ९ चिनियाँ, २ भारतीय र १ पाकिस्तानी नागरिकलाई भने अझैं पक्राउ गर्न सकेको छैन ।

सुन तस्करीको अभियोगमा पक्राउ परेका लिजुएन, जुल्पिङ झो पिङलगायत ९ जना चिनियाँ नागरिकलाई जिल्ला अदालत सिन्धुपाल्चोकले १० वर्षभन्दा बढीको कैद सजाय सुनाएको थियो ।

यसैगरी, भारतको पश्चिम बंगाल कालिङपोङ–६ निवासी तेञ्जिङ छिरिङ भुटियालाई ८ वर्ष कैद र ९ लाख ८५ हजार जरिवना तोकिएको थियो । भारतको उत्तर प्रदेशको बहराइच राम नजिद्दर निवासी मोहम्मद इब्राहिमलाई सुन तस्करी र हातहतियार खरखजाना मुद्दामा ९ वर्ष कैद तथा १ लाख जरिवाना गरिएको थियो । त्यस्तै खोटा सिक्का नोट चलन गरेका अभियोगमा कैद सजाय भोगिरहेका एक पाकिस्तानी नागरिक पनि जेलबाट फरार भएकाको सूचीमा छन् ।

फरार विदेशी नागरिकका हकमा गोरखापत्रमा सूचना प्रकाशन गर्ने मात्र आफूहरुको काम भएको अदालतका श्रेस्तेदार महेन्द्रबहादुर कार्की बताउछन् । कारागारबाट भागेका नेपाली कैदीलाई प्रहरीले क्रमिकरुपमा पक्राउ गरेपनि विदेशी नागरिकको हकमा तातोपानीस्थित सीमानाकामा तैनाथ चिनियाँ सुरक्षाकर्मी र भारतीय सीमा नाकाका सुरक्षाकर्मीसँग सम्पर्क राख्ने काम भइरहेको प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले बताए ।

भूकम्प आएलगत्तै चरिकोट कारागारबाट २ सय १६ जना कैदी भागेका थिए । फरारमध्ये १ सय १८ जना सम्पर्कमा आइसकेका छन् र अझै ९८ जना सम्पर्कमा आउन बाँकी छ । फरार रहेकामध्ये सुन तथा अखेटोपहार तस्करी, जबर्जस्ती करणी, मानव बेचबिखन, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, डाँका, चोरीलगायतका अभियोगमा सजाय भोगिरहेका थिए । भागेका कैदीलाई प्रहरीले पुनः पक्राउ गरेपछि थप सजाय हुने भएकाले कैद भुक्तान हुन थोरै समय बाँकी रहेकाहरु भने स्वयं उपस्थित भई इमान्दारिता देखाएको जिल्ला कारागार शाखाले जनाएको छ ।

प्रहरीले पक्राउ गरेकामा २०५९ सालदेखि फरार रहेकाहरु छन् । सुन चोरी पैठारी अभियोगमा चार वर्ष कैद तथा २० करोड जरिवाना तोकिएको भोटेकोशी गाउँपालिका लिस्ती निवासी दावा तामाङ र डेढ वर्ष कैद र ६ लाख ८१ हजार जरिवाना तोकिएका भ्रष्टाचारी मुद्दाका अभियुक्त मेलम्ची नगरपालिका–२ भोटेचौरका श्रीराम खतिवडालाई प्रहरीले हालै नियन्त्रणमा लिएको छ ।

सम्पर्कमा आइसकेका फरार अभियुक्तलाई स्थान अभावले विभिन्न जिल्लामा पठाउने गरेको सो शाखाले जानकारी दिएको छ । रासस

Logo