यी ८ कारण एमाले प्रदेश २ मा पहिलो बन्ने

यी ८ कारण एमाले प्रदेश २ मा पहिलो बन्ने


केन्द्रबिन्दु संवाददाता । लाहान, २८ भदौ ।

प्रदेश नम्बर २ का ८ वटा जिल्लाहरुमा हुन गइरहेको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) ले पहिलो पार्टी बन्ने दावी गर्दै आएको छ । १ महानगर, ३ उप महानगर, ७३ नगरपालिका र ५९ वटा गाँउपालिकामा हुन गईरहेको निर्वाचनमा ७५ सिट भन्दा माथि जीत हासिल गर्दै पहिलो शक्ति हुने दावी एमालेले जिल्लागत रिर्पोटलाई आधार मानेर गरेको हो ।
पहिलो र दोस्रो चरणको स्थानीय तह चुनावमा एमाले पहिलो पार्टीका रुपमा स्थापित भइसकेको छ । तराई मधेसका बारेमा मधेस विरोधी आरोप खेपेपनि जिल्लागत रिपोर्टहरुले एमाले नेतृत्व हौसिएको छ । निर्वाचनको मुखमा एमाले नेतृत्वलाई हौस्याउने तथ्य के हो त ?

१. जामुन मण्डल, एमाले अध्यक्ष महोत्तरी
अध्यक्ष जामुन मण्डल जिल्लाका १५ स्थानीय तह मध्ये कम्तीमा ८ वटामा एमाले अघि र बाँकी ७ वटामा प्रतिस्पर्धीको रुपमा रहेको बताउँछन । एमालेले ५ वटा नगरपालिका जलेश्वर, बर्दीवास, भंगाह, मन्डासिसवा कटैया र रामगोपालपुरमा अत्यधिक बहुमतका साथ सबै पदमा जित्ने दावी गर्दैै ३ गाउँपालिका पिपरा, महोत्तरी र चम्सीमा एमालेको जित निश्चित भएको दावी गरेका छन ।

२. राजकिशोर यादव, अध्यक्ष धनुषा
सबैको चासो र केन्द्रविन्दु रहेको धनुषा जिल्लामा पछिल्लो दिन एमालेले पकड बनाउँदै गएको अध्यक्ष यादवले जनाएका छन् । आन्तरिक समस्या सुल्झाई १८ वटा स्थानीय तहमध्ये अधिकमा जित हासिल गर्न लागिपरेको एमाले जिल्ला अध्यक्ष राजकिशोर यादव बताउँछन् । एमाले मधेशमा अरु भन्दा उत्तम पार्टी रहेको बुझ्न थालेपछि अन्य दल तिल्मिलाइरहेको एमालेको बुझाई रहेको छ । मिथिला, कमला, विदेह, शहिदनगर र सबैला नगरपालिकामा एमाले अग्रस्थानमा सबै सिटमा विजयी हुने यादव बताउछन् । त्यस्तै ६ वटा गाउपालिकामा मुखियापटि मुसरनीया, बटेश्वर, धनौजी र औरहीमा एमाले अघि रहेको एमालेको दावि रहेको छ ।

३. प्रमोद यादव, अध्यक्ष सिरहा
राजपाका नेता–कार्यकर्ताहरु एमाले र अन्य दलमा भटाभट प्रवेश गरेकाले आफ्नो पार्टी सजिलै अग्रस्थानमा आउने एमाले अध्यक्ष प्रमोद यादवको दावी छ । ८ नगरपालिका र ९ गाउपालिका गरी १७ स्थानीय तह छन् । त्यसमा ६ वटा नगरपालिकाका प्राय सबै सिटमा एमालेले जित्ने उनको दावी छ । त्यस्तै भगवानपुर, अरनवासहित ३ गाउपालिका एमालेका उम्मेदवार भारी मतले विजय हुने उनले सुनाए । कांग्रेस, माओवादी सत्तागठबन्धने राज्य शक्तिको चरम दुरुपयोग गरेको र आफूहरुले त्यसलाई चिर्दे जनतामाझ पुगेको यादवको धारणा छ ।

४. गोविन्द न्यौपाने, अध्यक्ष सप्तरी
विगतमा मधेशी दलका नेताहरुले युवालाई आन्दोलनमा मात्र बरालेको, विकासको काममा चासो नदेखाएकोले त्यसको परिणाम राजपाले अहिले भोग्ने एमाले सप्तरीका अध्यक्ष गोविन्द न्यौपाने बताउँछन । १८ वटा स्थानीय तहमा १० वटामा जित्ने एमालेकोे दावी छ । एमालेको सुरुंगा, खड्ग, चमुनाथ, डाक्नेश्वरी, कञ्चनरुक नगरपालिका सुरक्षित क्षेत्र हो । त्यस्तै सप्तकोशी र राजविराजमा पनि अग्रस्थानमा छ । ९ वटा गाउपालिकामा कृष्णसौरभ, तिरहुत, विलीचपेनासहित ४ वटामा जित निश्चित छ ।

५. रेवती पन्त, अध्यक्ष सर्लाही
सर्लाहीमा पनि एमाले अग्रस्थानमा छ । ११ नगरपालिका र ९ वटा गाउपालिका गरी २० स्थानीय तहमध्ये ११ वटामा एमालेको जित निश्चित भएको एमालेका जिल्ला अध्यक्ष रेवती पन्तले दावी गरेका छन । तराईमा एमालेको प्रष्ट नीति, विकासमा चासो र जनताबीच बढी घुलमिल भएका कारण एमालेप्रति आकर्षण बढ्दै गएको र त्यही अनुरुपको मत आफुहरुले पाउनेमा पन्त ढुक छन । इश्वरपुर, लालबन्दी, हरिवन, हरिपुर, वाग्मती, बरथहवा, कविलासी, मलंगवाजस्ता नगरपालिकामा एमाले अगाडी छ । त्यस्तै पर्सा, विष्णु, चन्द्रनगर, वसवरीया गाउपालिकामा एमालेको जित निश्चित छ । राजपाका नेताहरु एमाले सहितको पार्टीमा गएका कारण पनि एमालेलाई सजिलो भएको उनको बुझाई छ ।

६. कमल राय यादव, अध्यक्ष रौतहट
रौतहटका एमाले अध्यक्ष कमल राय यादव मधेशी पार्टीहरुले एमालेविरुद्ध पहिले चलाएको मधेश विरोधी पार्टी भन्ने नारा हावा खाइसकेको बताउछन् । रौतहटको १८ वटा स्थानीय तहमा १२ वटामा एमाले अघि रहेको उनको दावी छ ।
चन्द्रनिगाहपुर, गुजरा, वृन्दावन, गौर, गढीमाई, कटहरिया, विजयापुर, राजपुरलगायत नगरपालिकामा एमालेको पकड छ । दुर्गा भगवती र जमुनामाई दुवै गाउपालिकामा एमाले अग्रस्थानमा छ ।

७. सुन्दर विश्वकर्मा, अध्यक्ष बारा
बाराका १६ वटा स्थानीय तहमध्ये ९ वटामा एमाले अघि रहेको एमाले बारा जिल्ला अध्यक्ष सुन्दर विश्वकर्मा बताउँछन ।
उनका अनुसार जीतपुर सिमरा र कलैया उपमहानगरपालिकामा एमाले अग्रस्थानमा छ । निजगढ, बजरौटा, सिम्रोनगौढ, महागढीमाई नगरपालिकामा एमालेका उम्मेदवारहरु प्रतिष्पर्धी कांग्रेस र माओवादी केन्द्र निकै तल छन् । वारागठी, परवानीपुर, पर्सौनी, सुवर्णलगायत ५ वटा गाउपालिकाको चुनावी परिणाम एमालेको पोल्टामा आउनेमा एमाले जिल्ला नेताहरु ढुक्क छन ।

८. प्रभु हजारा पासवान, अध्यक्ष पर्सा
पर्साको अधिक स्थानीय तहमा एमालेको जित हुनेमा एमाले पर्सा अध्यक्ष प्रभु हजारा पासवान विश्वस्त छन । पर्साको १४ वटा स्थानीय तहमा कम्तीमा ९ वटामा एमालले प्रष्ट जित हासिल गर्ने आकलन एमालेको रहेको छ । विरगंज महानगरपालिकामा एमाले उम्मेदवार सबै सिटमा जित्ने पक्का रहेको हजारा बताउँछन । त्यसैगरी पर्सागढी, पोखरीया नगरपालिकामा एमाले अग्रस्थानमा छ । १० वटा गाउपालिकामध्ये पटेरासुवली, सकुवापसौनी, धोवीसहित ६ वटामा एमाले अघि रहेको एमालेको बुझाई छ ।

 

Logo