दशैँमा राजधानीबाहिर जाने टिकट पाउनै हम्मे

दशैँमा राजधानीबाहिर जाने टिकट पाउनै हम्मे


केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २७ भदौ ।

नेपालीहरूको महान चाड बडादशैँको अवसरमा राजधानी उपत्यकाबाट बाहिरी जिल्लाहरूमा जाने यात्रुहरूका लागि लामो दूरीका बसको टिकट बुकिङ मंगलबारबाट खुलेको छ । विगतमा दशैँको एक महिनाअघि नै टिकटको अग्रिम बुकिङ खुल्ने गरेको भए पनि यो वर्ष घटस्थापनाभन्दा करिब एक साता पहिले मात्र बुकिङ खुलेको छ ।

सरकार र यातायात व्यवसायीबीच यात्रु ओसारपसार सम्बन्धमा विवाद नमिलेकाले यस वर्ष टिकट बुकिङ सुरु हुन विलम्ब हुन गएको हो ।

टिकट खुलेको पहिलो दिन मंगलबार काउन्टरहरुमा सर्वसाधरणको घुइँचो लागेको छ । नयाँ बसपार्क, कलंकी, कोटेश्वर, गौशाला र चावहिलका टिकट काउन्टरमा सर्वसाधारणहरु राति १ बजेबाटै टिकट लिन पुगेका थिए । ‘म नयाँ बसपार्कमा टिकट लिन राति १ बजे पुगेर लाइन बसेको बिहान नौ बजे बल्ल पालो आयो’, टिकट पाएपछि खुसी देखिएका एक युवकको गुनासो थियो, ‘टिकट त पाइयो तर धेरै दुख पनि पाइयो ।’ 

नयाँ बसपार्कबाट पश्चिम, मध्यपश्चिम र सूदुरपश्चिमका जिल्लामा जाने बसको टिकट बुकिङ हुने गर्छ भने पूर्व जाने बसको पुरानो बसपार्कबाट टिकट काटिएको छ । पश्चिमको तुलनामा पूर्वी पहाडी जिल्ला जाने बसको टिकट सहज पाउने गरेको यात्रुहरुले बताएका छन् । टिकटका लागि गोंगवुस्थित नयाँ र रत्नपार्कस्थित पुरानो बसपार्कमा सर्वसाधरण मध्यरातदेखि लाइनमा बसेका छन् । 

दैनिक २५ सयदेखि ३ हजारवटा बस दैनिक काठमाडौबाट छुट्नेगरी व्यवस्था मिलाइएको छ भने १६ सिटे माइक्रोबसदेखि ४१ सिटसम्मका बस छुटने व्यवस्था गरिएको बताइएको छ ।

टिकटका लागि गोंगवुस्थित नयाँ र रत्नपार्कस्थित पुरानो बसपार्कमा सर्वसाधरण मध्यरातदेखि लाइनमा बसेका छन् । 

विभिन्न स्थानमा प्रहरी हेल्प डेस्क

प्रहरीले उपत्यकाका विभिन्न स्थानमा हेल्प डेस्क सञ्चालन गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा, नेपाल प्रहरी, यातायात व्यवसायी तथा नागरिक समाजको संयुक्त सहभागितामा यात्रु सहायता कक्ष सञ्चालन गरेको हो ।

सरकारले दशैँमा घर जान लामो तथा मझौला दूरीका यात्राका लागि अग्रिम टिकट बुकिङ खुला गरेसँगै महाशाखा, नेपाल प्रहरी, यातायात व्यवसायी तथा नागरिक समाजले काठमाडौँ उपत्यकाको १२ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरेका हुन् ।

उपत्यकाको नागढुङ्गा, कलङ्की, स्वयम्भू, नयाँ बसपार्क, पुरानो बसपार्क, सुन्धारा, चावहिल, तिलगंगा, कोटेश्वर, जगाती, लगनखेल र बल्खुमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

महाशाखाका प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालले यात्रुको सहजताका लागि ट्राफिक प्रहरी, जनपथ प्रहरी, यातायात व्यवसायी तथा नागरिक समाजका प्रतिनिधि रहने गरी यात्रु सहायता कक्ष स्थापना गर्न लागिएको जानकारी दिए । उनले बसको क्षमताभन्दा बढी यात्रु राख्ने, यात्रुलाई गन्तव्यसम्म नपुर्याई बीच बाटोमा अलपत्र पारेर छाड्ने, बढी भाडा लिने, टिकट कालोबजारी गर्नेलगायत काम गरेमा कारबाही गरिने बताए ।

Skip This
Logo