मानव सेवा आश्रमको सहयोगार्थ “जूनकीरी” पुनर्मन्चन

मानव सेवा आश्रमको सहयोगार्थ “जूनकीरी” पुनर्मन्चन


केन्द्रबिन्दु सम्बाददाता 

हेटौंडा, २३ भदौ । मानव सेवा आश्रमको सहयोगार्थ मकवानपुरको हेटौडामा “जूनकीरी” नाटकको पुनर्मन्चन गरिएको छ । ‘सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन तथा मानवसेवा आश्रम’को साधिका नानी थापाले अशक्त, अनाथ, अपाङ, असाहयहरुको सहयोगार्थ आर्थिक सहयोग जुटाउने सोचले नाटक पुनः मञ्चन गरिएको जानकारी दिए । 

नाटकमा एउटी महिलाको संघर्षका कथा समेटिएका छन् । एउटी सामान्य गाउँकी युवती ‘जूनकिरी’ कसरी व्यवसायिक हाइ प्रोफाइल कल गर्ल हुन पुग्छे भन्ने बिषयबस्तु समेटिएका छन् । एक आँटिली र बिद्रोही स्वभाबकी पात्र जूनकिरी नाटकभित्र महिला शसक्तिकरणको एउटा दरिलो संदेश बोकेर जूनकिरीले पुरै समाज, कानून, राज्य व्यवस्था र विश्व समुदायलाइ नै कडा व्यंग्य गर्दै चुनौती दिन पनि पछि हटेकी छैन । यति मात्रै नभई आमा बाबा र आफूले प्रेम गरेको युवकको लागि जूनकिरीको अत्यन्तै उदार प्रेम र समर्पणको भाव नाटकभित्र छताछुल्ल पोख्ने कोसिस पनि गरिएको छ । 

नाटकभित्र गीत, नृत्य, कबिता लगायत हास्य, करुणा, श्रृङगार, विर, रौद्र, विभत्स, भयानक लगायत लगभग अभिनयका नौ ओटै रसहरुबाट पात्रको मनोबैज्ञानिक विचलन नाटक जूनकिरी मार्फत देखाइएको छ । नाटकमार्फत आधुनिक युवा पुस्ताहरुको सोच र अनेकन् भ्रमहरुलाई चिर्दै किशोर अवस्थामा देखिन सक्ने बिभिन्न समस्याहरुलाइ उनीहरु स्वयं, परिवार र समाजले सही ढङ्गले समाधान गर्नुपर्ने शिक्षा दिन खोजेका छन् । 

यस नाटक गुरु अशेष मल्ल प्रति गुरुदक्षिणाको स्वरुप गत साल २०७३ भाद्रमा ११ शो मञ्चन गरिएको थियो । सिन्धुपाल्चोकको माझी बस्ती पुनर्निर्माणको लागि सहयोगार्थ भदौ २६ देखि असोज ५ सम्म राष्ट्रिय नाचघर जमलमा हरेक दिन २ र ५ बजे नियमित दुई शो प्रदर्शन हुँदैछ।

Logo