कतारको हमाद विमानस्थलमा भेटिएका शिशुका आफन्त सम्पर्कविहिन, घटना रहस्यमय

कतारको हमाद विमानस्थलमा भेटिएका शिशुका आफन्त सम्पर्कविहिन, घटना रहस्यमय


दोहा कतार ।

गएको आइतबार अष्ट्रेलियन सञ्चार गृह च्यानल सेभेनले १३ जना आफ्ना नागरिकहरूलाई कतारबाट स्वदेश फर्कनु पूर्व अक्टोबर २ मा हमाद विमानस्थलमा अनावश्यक रूपमा परीक्षण तथा चेकजाँच गरेको घटना सार्वजनिक गरे यता कतारको विमानस्थल विवादमा परेको छ । यो घटनालाई लिएर विश्व प्रख्यात सञ्चार गृह बिबिसी र द गार्जियनले समेत समाचार प्रकाशित गरी सकेका छन्।

खास घट्ना के हो ?
अक्टोबर २ मा विमानस्थलको शौचालयमा नवजात शिशु कागजमा पोको पारेर प्लास्टिकको झोलामा लुकाई फोहोरको डब्बामा फालिएको अवस्थामा फेला परेपछि शङ्कास्पद यात्रुहरूलाई कडाइका साथ निरीक्षण तथा चेकजाँच गरिएको थियो । सोही क्रममा अष्ट्रेलिया उड्न लागेका केही महिलाहरू चेकजॉचमा परेका थिए । उक्त बच्चा कसको हो भन्ने यकिन नभए पनि बच्चा स्वस्थ र सुरक्षित रहेको जनाइएको छ ।

विमानस्थल के भन्छ ?
घटना बाहिरिएपछि विमानस्थलले एक विज्ञप्ति जारी गर्दै आफ्ना कर्मचारीहरूले शौचालयमा नवजात शिशु फेला पारे पछि महिलाहरुको परीक्षण गरिएको जनाएको छ । विमानस्थलले आफ्ना यात्रुको सुरक्षा र सुविधामा प्रतिबद्ध रहेको जनाएको छ । विमानस्थलको इतिहासमै यस्तो प्रकृतिको घटना पहिलो पटक भएको हो । कतारको कानुन उल्लंघन सँगै ज्यान जोखिम सम्बन्धि घटना भएका कारण त्यो समयमा चेकजाँचमा परेका महिलाहरूलाई कारण बताउन नसकेको र ती यात्रुहरूको ब्यक्तिगत स्वतन्त्रताको हक उल्लंघन भएकोमा विमानस्थलले माफी मागेको छ ।

उक्त घटनालाई लिएर कतारका प्रधानमन्त्री तथा गृहमन्त्री शेख खालिद बिन खलिफा बिन अब्दुलाजिज अल थानीले गम्भीर भएर अनुसन्धान गर्न निर्देशन दिएका छन् । अनुसन्धानको नतिजा अन्तर्राष्ट्रिय मानव अधिकारकर्मी तथा मिडियाकर्मी माझ कतारले स्पष्ट रूपमा सार्वजनिक गर्ने समेत थानीले बताए।

Logo