पोखरा, २१ भदौ
“देश दुःखेको बेला कलाकर्मीको मन नदुख्ने कुरै भएन नी,” पोखरेली वरिष्ठ कलाकार गोपाल श्रेष्ठले भने, “बाढीपीडितलाई केही मात्रामा राहत होस् भनेर कलाकर्मीको प्रयासमा यो कला प्रदर्शनी गरेका हौँ । "/>

बाढीपीडितलाई कलाकर्मीको सहयोग संकलन

बाढीपीडितलाई कलाकर्मीको सहयोग संकलन


पोखरा, २१ भदौ
“देश दुःखेको बेला कलाकर्मीको मन नदुख्ने कुरै भएन नी,” पोखरेली वरिष्ठ कलाकार गोपाल श्रेष्ठले भने, “बाढीपीडितलाई केही मात्रामा राहत होस् भनेर कलाकर्मीको प्रयासमा यो कला प्रदर्शनी गरेका हौँ ।”

बाढीको पीडाका कारण घरवास गुमाएका पीडितलाई केही मात्रामा नै भए पनि सहयोग पुगोस् भन्ने हेतुले सिर्जनशील कलाकार समूह, पोखराको संयोजनमा पोखराको महेन्द्रपुल स्थित पोखरा आर्ट ग्यालरीमा भदौ १७ गतेदेखि कला प्रदर्शनी चलिरहेको छ । यस वर्षको बाढीका कारण नेपालका धेरै भूभागमा ठूलो क्षति बेहोर्नु परेको पीडाले कलाकारका मनलाई छोएको बताउँदै कलाकार श्रेष्ठले मानिसले भोग्नुपरेका पीडा, व्यथा र वेदनामा केही मात्रामा नै भए पनि मलमपट्टी लगाउन सकिन्छ कि भन्ने उद्देश्यले कला प्रदर्शनी गरिएको जानकारी दिए ।

प्रदर्शनीमा दुई हजार ५०० देखि २० हजार सम्मका कलाकारका सिर्जना राखिएको बताउने अर्की कलाकार मिलन शेरचनले बाढीपीडितको सहयोगार्थ प्रदर्शनी राखिएका कारण ५० प्रतिशत छुटमा सिर्जना बिक्री गरिएको बताइन । “बिक्री गरिएका मध्ये प्रत्येक कलाको ५० प्रतिशत बाढीपीडितलाई र ५० प्रतिशत कलाकारका लागि छुट्याएका छौँ,” उनी भन्छिन्, “शुरुमा नै ५० प्रतिशत छुट गरी त्यसको पनि ५० प्रतिशत बाढी पीडितलाई छुट्याएका कारण कलाकारले खासै कलाको परिश्रमको मूल्य नपाउने भएपनि देश दुःखेको बेला सानै सहयोग भए पनि राहत दिन सकिन्छ कि भनेर यो प्रदर्शनी गरिएको हो ।”

प्रदर्शनीमा ३२ जना कलाकारका ८५ वटा तस्वीर राखिएको कलाकार एवं पोखरा आर्ट ग्यालरीकी कर्मचारी एलिता गुरुङले जानकारी दिइन । प्रदर्शनी शुरु भए यता विभिन्न १८ वटा कला बिक्री भइ सकेको उनले बताइन् ।
घरमा लगेर कला सजाउन पनि पाइने र किनेको कलाको ५० प्रतिशत मूल्य बाढीपीडितको सहयोगमा जाने भएकाले कलाका पारखीका लागि यो सामाजिक सेवाको पनि अवसर भएको प्रदर्शनीमा आएका पोखरा नागढुंगाका ओम कार्कीले बताए । सिर्जनशील कलाकार समूहका कोषाध्यक्ष झविन्द्र गुरुङका अनुसार आगामी भदौ २४ गते सम्म आयोजना गरिने प्रदर्शनीमा वरिष्ठ कलाकार दुर्गा बराल, गोपाल श्रेष्ठ, बुद्धि गुरुङ, क्षेत्रलाल कायस्थ, मिलन शेरचन, हेमकान्ती गुरुङ, निशान गुरुङ लगायतका सिर्जना राखिएको छ । रासस

 

Logo