स्नातक शिक्षाबारे बुझ्नु छ ? शैक्षिक मेला जानुहोस्

स्नातक शिक्षाबारे बुझ्नु छ ? शैक्षिक मेला जानुहोस्


अदिती पौडेल । काठमाडौं, २८ साउन ।

उच्च शिक्षा, करियरको जग । खासगरी स्नातक तहबाटै हो, विद्यार्थीले भविष्यको खाका कोर्ने । रेखाङ्कन गर्ने । तर, यही मोडमा पुगेपछि विद्यार्थी द्विविधाको भूँमरीमा फस्छन् । कहाँ पढ्ने, के पढ्ने, कसरी पढ्ने ?

पढ्नका लागि शिक्षालयको कमी छैन । बिषय पनि छानीछानी छन् । तर, आफ्नो लक्ष्य हासिल गर्न कुन बिषय पढ्ने, कहाँ पढ्ने भन्ने प्रश्नले बिद्यार्थीलाई सधै घेराबन्दीमा पारिहरको हुन्छ । यहि समस्याबाट उम्कनका लागि गतिलो गन्तव्य हुनसक्छ, नेपाल हाइयर एजुकेशन फेयर ।

तेस्रो संस्करण अन्र्तगत आजैबाट सुरु हुने यो शैक्षिक मेलामा विद्यार्थीले सम्पूर्ण जिज्ञासा मेट्न सक्छन्, त्यो पनि एकै थलोमा । यसका लागि पुग्नपर्छ, होटल अन्नपूर्ण ।

दरबारमार्गस्थित होटल अन्नपूर्ण परिसरमा बिद्यार्थीले करिब चार दर्जन शैक्षिक संस्था फेला पार्न सक्नेछन् । मेला दुई दिनसम्म जारी रहनेछ । मेलामा व्यवस्थापन, आइटी र मानविकीका विभिन्न विषयबारे सोधीखोजी गर्न सकिनेछ । यहाँ बीबीए, एमबिए, बिएचएम, बीआइटी, बीआइएम, बीटीटीएम, बीएचटीएम लगायत कोर्स गर्न कहाँबाट कति खर्च लाग्छ भन्ने छिनोफानो गर्न सकिनेछ ।

एजुकेशन डटकमले यो मेलाको मेलोमेसो मिलाएको हो । एजुकेशन डटकममा प्रवन्ध निर्देशक एवं कार्यक्रम आयोजक जीवन लामा गोले भन्छन्, ‘उच्च शिक्षाको लागि आवश्यक परामर्श दिने र लिनेहरुको जमघट हो यो । यसबाट उच्च शिक्षाका तयारी गरिरहेकाहरु लाभान्वित हुनेछन् ।’

किन जाने शैक्षिक मेला ?
खासगरी स्नातक तहमा पुगेपछि विद्यार्थीहरु बढी संवेदनशिल हुन्छन् । र, हुनपनि पर्छ । किनभने स्नातक शिक्षाले नै बिद्यार्थीको करियर निर्माण गर्ने हो । लामा भन्छन्, ‘यतिबेला उमेरका हिसावले पनि उनीहरु परिपक्क भइसकेका हुन्छन् र जिम्मेवारीका हिसावले पनि ।’

स्नातक शिक्षा कुन कलेजबाट लिने भन्ने विषयमा मात्र होइन, कुन बिषय आफ्नोलागि बढी अनुकुल छ भन्ने कुराको परामर्श पनि मेलाबाट प्राप्त गर्नेछन् । खासमा विद्यार्थी र शिक्षालयबीच अन्र्तक्रियात्मक सम्बन्ध गाँस्ने मौका हो यो मेला ।

स्नातक शिक्षाको तयारीमा जुटिरहेका विद्यार्थीलाई लक्षित गरेर मेला आयोजनालाई निरन्तरता दिइइको लामाले बताए । ‘यतिबेला बिद्यार्थीहरु कहाँ पढ्ने भन्ने कुरामा अलमलिइरहेका हुन्छन्’ लामा भन्छन्, ‘तिनै विद्यार्थीको द्विविधा मेट्न मेला आयोजना गरिएको हो ।’

तपाई जिज्ञासाको चाङ लिएर पुग्नुहोस्, एकै थलोबाट तपाईको समस्या किनारा लाग्नेछ । किनभने यो मेलाको ध्येय खासमा विद्यार्थीलाई आवश्यक परामर्श उपलब्ध गराउने हो । ‘बिद्यार्थीले चाहेजति सबै खालको जिज्ञासा मेट्न सक्छन्’ लामा भन्छन्, ‘चाहे त्यो कुनै विषयको बारेमा होस् वा कलेजको शुल्कको बिषयमा नै । छात्रावृत्तिदेखि कलेजले दिने अरु सबै स्किमबारे राम्ररी सोधीखोजी गर्न सकिनेछ ।’

त्यस्तै आफ्नो बजेट अनुसार उचित शैक्षिक संस्था छनौट गर्नका लागि पनि मेला उपयोगी हुनेछ । किनभने मेलामा बिद्यार्थीले कुनैपनि शैक्षिक संस्थामा लाग्ने भर्ना, मासिक शुल्कदेखि अतिरिक्त खर्च समेतको यथार्थ विवरण पाउनेछन् ।

यसपाली मेलालाइर्ए ७ हजार बिद्यार्थीले अवलोकन गर्ने अपेक्षा लिइएको छ । मेलामा शैक्षिक संस्थाहरुले विभिन्न स्किम सार्वजनिक गर्दैछ । छात्रावृत्ति लगायत छुट अफरहरु पनि पाउन सकिनेछ । साथै मेला प्रवेश गर्ने विद्यार्थीमध्येबाट डुअर प्राइजको समेत व्यवस्था गरिएको छ ।

स्वदेशमै पढाई, स्वदेशमै रोजगार
यतिबेला विद्यार्थी भिषा च्यापेर विदेशिन तयार छन्, थुप्रै विद्यार्थी । यसरी ‘पढ्न जाने’ बिद्यार्थीबाट बर्षेनी अर्बौ रुपैयाँ बाहिरिने गरेको छ । दुखलाग्दो त के भने, विदेशी शिक्षाको मोहले समुन्द्र पारी पुगेका विद्यार्थीहरु उतै पलायन हुने गरेका छन् । ‘ब्रेन ड्रेन’को यो सिलसिलाले मुलुकले गरेको शैक्षिक लगानी ‘बालुवामा पानी’ भइरहेको अवस्था छ ।
विदेशिने विद्यार्थीको गुनासो छ, ‘नेपालमा स्तरिय पढाई भएन ।’

यद्यपी पछिल्लो समय परिमार्जित कोर्सहरु अन्तर्राष्ट्रियस्तरकै भएको शिक्षाविद्हरुले जिकिर गरिरहेका छन् । विश्वको शैक्षिक स्तरसँग सुहाउँदो पाठ्यक्रम विकास गरिएको छ र पठन विधीलाई पनि उन्नत बनाइएको छ । अहिले नेपालमै प्रयोगात्मक शिक्षालाई जोड दिइएको छ, जसले विश्व श्रम बजारको मागलाई सम्बोधन गर्छ ।

लामा भन्छन्, ‘पहिलेको जस्तो पुरातन ढर्राको पढाई, पाठ्यक्रम छैन । अहिले नेपालमै अन्तर्राष्ट्रिय स्तरको पढाइ हुन थालेको छ ।’ पछिल्लो समय शैक्षिक संस्थाहरुले मल्टिमिडिया प्रणाली आत्मसात गरिररहेको पनि उनले बताए ।

‘मेलाको उदेश्य भनेको नेपालमै गुणस्तरिय शिक्षा आर्जन गर्ने अवसर भनेर विद्यार्थीलाई अवगत गराउनु पनि हो’ लामा भन्छन्, ‘स्वदेशी शिक्षाले अहिले जुन रुपमा आफ्नो स्तरवृद्धि गरेको छ, त्यो कुरा बिद्यार्थीले पनि बुझ्न जरुरी छ ।’

स्वदेशमै अन्तर्राष्ट्रिय डिग्री
अन्तर्राष्ट्रिय स्तरको शिक्षा लिन अब विदेशी मुलुकको भिषा पर्खिरहनु पर्दैन । लाखौ रुपैयाँ खर्चनु पर्दैन । आफु बाचेको समाज र संस्कृति त्याग्नु पर्दैन ।

अन्तर्राष्ट्रिय स्तरको डिग्री हासिल गर्न सकिन्छ, आफ्नै घरमा बसेर । अहिले स्नातक शिक्षामा त्यस्ता विषय एवं पाठ्यक्रम छन्, जो विश्व बजारले माग गर्ने शैक्षिक जनशक्ति अनुरुप तयार गरिएको छ । अर्थात, नेपालमै पढेर पनि विश्व रोजगार बजारमा प्रवेश गर्न सकिन्छ । चाहे त्यो व्यवस्थापनको कुरा गरौ वा आइटीको । सात समुन्द्र परको विश्वविद्यालयले पढाउने कोर्स यहि उपलव्ध छ ।

बेलायत, अमेरिका, अष्ट्रेलियादेखि भारतसम्मका विश्वविद्यालयको शिक्षा नेपालमै पढ्न सकिन्छ । यसरी विदेशी विश्वविद्यालयको सम्बन्धमा पठन पाठन गराइरहेका कलेजहरुले व्यवस्थापन, आइटी जस्ता विषयलाई लक्षित गरेका छन् । बिबिए, होटल म्यानेजमेन्ट, आइटी म्यानेजमेन्ट आदि बिषयमा यहि बसेर विदेशी डिग्री हासिल गर्न सकिन्छ ।

यसरी विदेशमा जानुभन्दा स्वदेशमै बसेर पढ्दा खर्चको आकार पुरै घट्छ । विदेशमा आवसिय खर्चदेखि मासिक शुल्क, भर्ना शुल्क आदिमा लाखौं खर्चनुपर्छ । भुक्तभोगीका अनुसार विदेशमा लाग्ने खर्चको तुलनामा १० प्रतिशतमै नेपालमा विदेशी डिग्री लिन सकिन्छ ।

 

Skip This
Logo