५० वर्षको उमेरमा पनि व्यवसायिक फुटबल खेल्दैछन् ‘काजु’

५० वर्षको उमेरमा पनि व्यवसायिक फुटबल खेल्दैछन् ‘काजु’


३० कटेपछि अधिकांश फुटबलरहरू सन्यासका योजना बुन्छन् । ३५ कटेपछि माथिल्लो श्रेणीमा टिकिरहने फुटबलहरूको संख्या निकै कम छ । ४० कटेपछि त फुटबलरहरूले खेलाडी जीवन छाडेर प्रशिक्षण वा अन्य कुनै करियर रोजिसकेका हुन्छन् ।

तर जापानको दोस्रो श्रेणीको लिग जे–टुमा प्रतिस्पर्धा गर्ने काजुयोशी मिउराले ५० वर्ष पुगिसक्दा पनि सन्यासको योजना बनाएका छैनन् । ‘काजु’ नामले चर्चित यी फुटबलरले गत मार्चमा व्यवसायिक फुटबलमा सबैभन्दा बढी उमेरमा गोल गर्ने कीर्तिमान बनाएका थिए ।

इङल्यान्डका स्टान्ली म्याथ्युजको रेकर्ड ब्रेक गर्ने क्रममा उनले थेसिपा कुसात्सु विरुद्ध योकोहामा फुटबल क्लबका लागि निर्णायक गोल गरे । खेल याकोहामाले २–० ले जित्यो । यी फुटबलर अहिले ३२औं सिजन व्यवसायिक फुटबल खेलिरहेका छन् ।

रोचक कुरा, उनले फुटबल करियर सुरु गर्दा अहिलेका स्टार फुटबलर लियोनेल मेसी जन्मिएका पनि थिएनन् । १९८६ मा उनले ब्राजिली क्लब सान्तोषमार्फत व्यवसायिक फुटबलमा डेब्यु गरेका थिए । त्यसपछि उनी जापान फर्किए । ब्राजिल, रसिया, इटाली, अस्टे«लिया लगायतका देशमा उनले व्यवसायिक फुटबल खेलिसकेका छन् ।

सन् १९९० देखि २००० को बीचमा जापानबाट ८९ खेल खेल्दै ५५ गोल गरेका यी स्ट्राइकर त्यस्ता फुटबलरमध्ये एक हुन् जसले उत्कृष्ट हुँदा हुँदै पनि कहिल्यै विश्वकप खेल्न पाएनन् । (एजेन्सी)

Logo