कृष्ण सिंह धामी
कञ्चनपुर । तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज विष्ट अदालतमा हाजिर भएका छन् । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त प्रकरणमा मुछिएका एसपी विष्ट मंगलबार बिहान जिल्ला अदालतमा हाजिर भएका हुन् ।
प्रमाण नष्ट गरेको तथा चरम यातना दिएको भन्दै निर्मलाकी आमा दुर्गादेवी र दिलिप विष्टका दाजु खडग विष्टले जिल्ला अदालत कञ्चनपुरमा एसपी विष्टसहित ८ प्रहरी अधिकारीविरुद्ध मुद्दा हालेका थिए । यातना दिएको अभियोगमा एसपी विष्ट, तत्कालीन डिएसपी ज्ञानबहादुर सेठी, सिआइबीका डिएसपी अंगुर जिसी र इन्सपेक्टर एकेन्द्र खड्काविरुद्ध मुद्दा दायर गरिएको थियो ।
त्यस्तै प्रमाण नष्ट गरेको आरोपमा तत्कालीन वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी इन्सपेक्टर जगदिश भट्ट, सईहरु हरिसिंह धामी, रामसिंह धामी र प्रहरी जवान चाँदनी साउद विरुद्ध मुद्दा दायर गरिएको थियो ।
डिएसपी ज्ञानबहादुर सेठीसहित ६ जना प्रहरी धरौटीमा रिहा भएका छन् भने एसपी विष्ट र सीआईवीका डिएसपी अंगुर जिसी फरार थिए । अदालतले उनीहरुविरुद्ध ३५ दिने वारेन्ट जारी गरेको थियो । फरार रहेका दुई जनामध्ये एसपी विष्ट मात्रै हाजिर भएका हुन् । डिएसपी जिसी भने अझै सम्पर्क बाहिर छन् ।
सरकारले निर्मला प्रकरणमा तत्कालीन एसपी दिल्लीराज विष्ट र इन्सपेक्टर जगदिश भट्टलाई सेवाबाटै बर्खास्त गरिसकेको छ भने अन्य ६ जना प्रहरी निलम्बनमा छन् ।
समाचार शिर्षक सम्पादन गरिएको- सम्पादक
निर्मला प्रकरणः ३१ लाख रुपैयाँ धरौटी बुझाएपछि ६ प्रहरी हिरासत मुक्त
निर्मला प्रकरणः एसपी दिल्लीराज र डिएसपी अंगुर जिसीविरुद्ध पक्राउ पूर्जी जारी
निर्मला हत्या प्रकरण: दिल्ली विष्टसहित ८ प्रहरीविरुद्ध मुद्दा दायर
प्रकाशित: ५ चैत २०७५ ११:०१ मंगलबार