केन्द्रबिन्दु डेस्क । २४ जेष्ठ २०७४, काठमाण्डौं ।
‘म धेरै बोल्दिन, गरेर देखाउँछु ।’
प्रधानमन्त्री निर्वाचित हुनु केही घण्टा अघि नेपाली कांग्रेसका सभापति समेत रहेका शेरबहादुर देउवाले यस्तो प्रतिक्रिया दिएका थिए । तर गरेर देखाउँछु भन्ने उनको भाषणप्रति आम आशा भने देखिदैन । उनले विकासको मुल फुटाउँछन् भन्यो भने कमैले मात्र पत्याउलान् । किनभने विगतमा उनी तीन पटक प्रधानमन्त्री भएको अनुभव देश र जनताले गरिसकेका छन् ।
यतिभएर पनि देउवाले केही काम भने अनिवार्य रुपमा गर्नैपर्छ । उनको पहिलो काम हो, दोस्रो चरणको स्थानिय चुनाव तोकिएकै मितिमा स्वतन्त्र र निश्पक्षरुपमा सम्पन्न गर्ने । संविधानको पूर्ण कार्यान्वयनकालागी आउँदो माघ ७ गतेसम्म थप दुईवटा चुनाव समेत सम्पन्न गराउने । यति काम गरेनन् भने उनी मात्र होइन उनको पार्टी र देश नै असफल हुने छ ।
खासगरी धर्मनिरपेक्षताको सवालमा देउवा बहकिन्छन् भन्ने नेपाली कांग्रेस भित्रवाटै आरोप लाग्दै आएको छ । परिवर्तनका एजेन्डाहरुमा उनी दृढताका साथ उभिन सकेनन् भने त्यसले पनि उनलाई बाँकी राख्ने छैन ।
मधेसी र जनजातिलाई मनाएर संविधान सर्वस्वीकार्य वनाउने उनको अर्को चुनौती हो । आउँदा सवै चुनावमा उनीहरुले भाग लिने वातावरण तयार हुनै पर्छ । प्रमुख प्रतिपक्ष एमालेको विश्वास लिने सवालमा पनि उनले परिपक्वता प्रदर्शन गर्नै पर्छ । यसोगर्न नसक्दा पनि देउवा सफल हुने छैनन् ।
छिमेकी देश भारत र चीनसँगको सम्बन्ध संतुलनमा राखिरहने काम पनि उनकालागी चुनौती कै विषय हुनेछ । पश्चिमा इसारामा चल्छ भन्ने आरोपलाई उनले कसरी खण्डन गर्दै जाने हुन् भन्ने पक्ष पनि जटिल नै छ ।
देशको आर्थिक बृद्धिदर यस वर्ष झन्डै ७ प्रतिसतको हाराहारीमा छ । के यो बृद्धिदर उनले कायम राख्न सक्लान् ? सुरु भएका विकासमा योजना–आयोजनाहरुलाई उनको सरकारले द्रुत बनाउन सक्ला ? यो पनि आम जनताले हेरेर बस्ने विषय हो ।
पार्टीका विपक्षीहरुलाई मिलाएर अघि बढ्ने काम पनि उनको चुनौती नै हो । नेपाली कांग्रेसका मूल्य मान्यता धरासायी नवनाउने । संसदीय लोकतन्त्रलाई बदनाम गर्ने कुनै निर्णय नगर्ने कुरामा पनि उनी सतर्क हुन जरुरी छ । विगतमा उनी प्रधानमन्त्री हुँदा यस्ता धेरै बदनामी कमाउने काम भएका छन् ।
भ्रष्टाचार बढ्न नदिने । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको शाख फर्काउने । न्यायलयलाई आफू अनुकुल चलाउन नखोज्ने जस्ता कार्यमा पनि प्रधानमन्त्री देउवा गम्भिर हुनै पर्छ । विगतमा यी ठाऊँहरुले उनलाई आरोपको बर्षा गराएका छन् ।
यि कुनै पनि काम गर्न देउवाले वास्तवमा नै धेरै बोलिरहनु पर्दैन । एमाले अध्यक्ष ओलीले जसरी बोलेर पिठो बेच्ने काम उनीवाट संभव पनि छैन । त्यसकारण उनले नबोलेकै बेस । तर, आउँदो माघ ७ गते सम्ममा नै उनले यि मध्ये धेरै काम फत्ते गरिसक्नु पर्ने छ । अर्थात उनीसँग जम्मा अव ७ महिना बाँकी छ । सरकारलाई काम देखाउन सात महिना धेरै होइन, तर उनले यी चुनौती पार लगाउन भने यो समय काफी नै हुने विश्लेषण गर्न सकिन्छ ।
यी हुन् चुनौती
१. दोस्रो चरणको स्थानिय चुनाव तोकिएकै मितिमा स्वतन्त्र र निश्पक्षरुपमा सम्पन्न गर्ने । संविधानको पूर्ण कार्यान्वयनकालागी आउँदो माघ ७ गतेसम्म थप दुईवटा चुनाव समेत सम्पन्न गराउने ।
२. संस्थागत हुँदै गरेका परिवर्तनका एजेन्डाहरुमा दृढ रहने, नधर्मराउने । खासगरी धर्मनिरपेक्षताको सवालमा ।
३. मधेसी र जनजातिलाई मनाएर संविधान सर्वस्वीकार्य वनाउने । आउँदा सवै चुनावमा उनीहरुले भाग लिने वातावरण तयार गर्ने ।
४. छिमेकी देश भारत र चीनसँगको सम्बन्ध संतुलनमा राखिरहने । पश्चिमा इसारामा चल्छ भन्ने आरोपलाई ब्यवहारले नै खण्डन गर्ने ।
५. देशको आर्थिक बृद्धिदर अहिलेजस्तै झन्डै ७ प्रतिसतमा कायम राख्ने । सुरु भएका विकासमा योजना–आयोजनाहरु द्रुत बनाउने । र, पुननिर्माण प्रधाकिरणलाई प्रभावकारी बनाउने ।
६. पार्टीका विपक्षीहरुलाई मिलाएर अघि बढ्ने । नेपाली कांग्रेसका मूल्य मान्यता धरासायी नवनाउने । संसदीय लोकतन्त्रलाई बदनाम गर्ने कुनै निर्णय नगर्ने ।
७. भ्रष्टाचार बढ्न नदिने । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको शाख फर्काउने । न्यायलयलाई आफू अनुकुल चलाउन नखोज्ने ।
प्रतिक्रिया