पूर्वप्रधानाध्यापमाथि विद्यालयमै आक्रमण, दलित हेडमास्टर भन्दै  लगाएको कपडासमेत च्यातिदिए !

पूर्वप्रधानाध्यापमाथि विद्यालयमै आक्रमण, दलित हेडमास्टर भन्दै  लगाएको कपडासमेत च्यातिदिए !


आक्रमणमा परेका पूर्वप्रधानाध्यापक तथा शिक्षक नेत्र बहादुर रम्तेल बीचमा।

जनता माध्यमिक विद्यालय गौरीडाँडा बर्दिबास महोत्तरीका पूर्वप्रधानाध्यापक एवं हालका शिक्षक नेत्रबहादुर रम्तेलमाथि विद्यालयमै आक्रमण भएको छ। विद्यालय परिसरमा स्थानीय मनिष अर्यालले शिक्षण क्रियाकलापमा खटिएका शिक्षक रम्तेलमाथि कुटपिट गरेका हुन्। 

शिक्षक कुट्ने आरोपी अर्याललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिबास डीएसपी वीरेन्द्र थापाले बताए। ‘आरोपीलाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया सुरु गरेका छौं,’ डीएसपी थापाले भने, ‘पीडितको उजुरीका आधारमा कारवाही हुन्छ।’

शिक्षक रम्तेलमाथि जातिय लान्छना लगाउँदै कुटपिट भएको हो। 

‘तँ मुला दलित हेडमास्टर भन्दै आक्रमण गरे’, पीडित शिक्षकले भने। रम्तेलमाथि टाउकोमा मुक्का प्रहार गर्दै शरीरमा लगाएको गन्जी, सर्ट र कोर्ट च्यातिदिएका छन् । शिक्षकमाथि भइरहेको आक्रमण रोक्न खोज्दा आरोपीले फेरि ढुङ्गा प्रहार गरेका थिए।

अराजक गतिविधिमा सक्रिय रहेका आरोपी अर्यालले यस अघि होटल व्यवसायीमाथि आक्रमण गरेको बर्दिबास ३ का वडाध्यक्ष राजन ढुङ्गानाले बताए।

उनलाई विद्यालयबाटै नियन्त्रणमा लिएर स्थानीयले प्रहरीलाई बुझाएका थिए। बाटोमा प्रहरीलाई झुक्याएर भागेका थिए। आरोपीलाई पक्राउ गरेर कारवाही गर्नु पर्ने माग गर्दै गाउँलेहरु इलाका प्रहरी कार्यालयमा गएर चर्को नाराबाजी गरेका थिए। त्यसपछि प्रहरी टोलीले पक्राउ गरेका छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर खनालले आरोपीमाथि हदैसम्मको कारवाही गर्न माग गरेका छन्। शिक्षक उपर भएको कुटपिटको शिक्षक संगठनले कडा विरोध र घोरनिन्दा गरेको छ। घटनाको छानविन गरेर दोषीलाई कडा कारवाही गरिनु पर्ने माग  एकीकृत अखिल नेपाल शिक्षक संगठन प्रदेश २ ले गरेको छ। 

‘अराजक व्यक्तिले गुण्डागर्दी शैलीमा हाम्रा शिक्षकमाथि अभद्र व्यवहारका साथै हातपात भएको घटनाले हामी दुःखी भएका छौं,’ संगठनका महासचिव राजवीर महतोले भने,‘दोषीलाई कानुनी रुपमा हदैसम्मको कारवाही गर्न हामी प्रशासन समक्ष आग्रह गर्दछौँ। दोषीमाथि कारवाही नभए जस्तोसुकै आन्दोलनमा उत्रिन बाध्य हुन्छौं।’अन्नपूर्णबाट

Logo