महाशाखाद्वारा नागरिकमैत्री आचरण व्यवहार सुधार कार्यक्रम शुरु

महाशाखाद्वारा नागरिकमैत्री आचरण व्यवहार सुधार कार्यक्रम शुरु


महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रहरीको आचरणमा थप सुधार गरी नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रदान गर्न कार्यक्रम शुरु गरेको छ । 

महाशाखाले ट्राफिक प्रहरीले सेवाग्राहीसँग गर्ने आचरणलाई थप नागरिकमैत्री बनाउने उद्देश्यले प्रहरीको व्यवहारमा थप सुधार लक्षित कार्यक्रम शुरु गरेको हो । ट्राफिक प्रहरीले गर्ने दैनिक काम कारबाही एवं गतिविधिका क्रममा आउने सेवाग्राही तथा सडक प्रयोगकर्ताहरुसँग नागरिकमैत्री व्यवहारसहित सहज, सरल एवं पारदर्शी सेवा प्रदान होस् भन्ने उद्देश्यले यस मुल्याङ्कन पद्दतिसहित पुरस्कृत गर्ने परिपाटी समेत शुरु गरेकाे छ ।
 
नेपाल प्रहरीले पालना गर्नुपर्ने आचारसंहितासम्बन्धी कार्यादेश २०७७ र प्रहरी हवल्दार तथा प्रहरी जवान लक्षित उत्प्रेरणा अभिवृद्धि योजना २०७७ लाई प्रभावकारी कार्यान्वयन गर्न ट्राफिक प्रहरीबाट सेवाग्राही तथा सडक प्रयोगकर्ताहरुसँग सभ्य, शिष्ट र पारदर्शी रुपमा उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यले नागरिकमैत्री ट्राफिक प्रहरी छनोट कार्यविधी २०७७ बनाई लागू गरिएको एसएसपी जनक भट्टराईले जानकारी दिए ।

एक सय पूर्णाङ्कको कार्यविधीलाई दुई चरणमा विभाजन गरिएको छ । जसमा प्रहरी कर्मचारीको व्यक्तिगत आचरण, कार्यसम्पादन क्षमता, सेवाग्राहिसँगको व्यवहार, अनुशासन लगायतका बिषयहरु समेटिएका छन् । प्रत्येक ट्राफिक प्रहरी कर्मचारीको प्रत्यक्ष मुल्याङ्कन निज कार्यरत कार्यालयको प्रमुख, हवल्दार र सुबेदार मेजरबाट हुनेछ भने समग्र मुल्याङ्कन एवं सुपरिवेक्षण महाशाखाले गर्ने छनोट कार्यविधीमा व्यवस्था रहेको छ ।

प्रत्येक महिना सर्वोत्कृष्ट कार्यसम्पादन गर्ने दुई जनालाई वृत्तिविकासमा जनाइने गरी नगद पुरस्कार एवं सम्मान समेत गरिने महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले बताए । यसले आम सेवाग्राही एंव सडक प्रयोगकर्ताहरुलाई नागरिकमैत्री व्यवहारसहित उत्कृष्ट सेवा प्रदान गर्न र समग्र कार्य सम्पादनमा प्रभावकारिता एवं स्तरबृद्धि गर्न कोशेढुङ्गो साबित हुने प्रबक्ता अधिकारीले विश्वास व्यक्त गरे ।

ट्राफिक प्रहरीले सेवाग्राहीसँग गर्ने आचरण व्यवहारमा थप सुधार गरी नागरिकमैत्री सेवा प्रदान गर्न महाशाखाले ‘नागरिकमैत्री ट्राफिक प्रहरी छनोट कार्यविधी २०७७’ लागू गरेको जनाएको छ ।

Logo