अवैध लागूऔषधसहित १३ जना पक्राउ

अवैध लागूऔषधसहित १३ जना पक्राउ


काठमाडौंका विभिन्न ठाउँ, झापा, म्याग्दी, कपिलवस्तु र पर्साबाट अवैध लागूऔषधसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-६ बौद्धका विभिन्न स्थानबाट नियन्त्रित लागूऔषध ३ हजार पिस नाइट्राभेट सहित बुढानिलकण्ठ नगरपालिका-११ बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भएका ३६ वर्षीय हरि बहादुर तामाङ समेत ५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं, चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट ७० ग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने वस्तु सहित रोल्पा करेटी गाउँपालिका-२ बस्ने १९ वर्षीय राजु थापालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट करिब ५ सय ग्राम अवैध लागूऔषध गाँजासहित धादिङ निलकण्ठ नगरपालिका-९ बस्ने ३९ वर्षीय श्याम बहादुर मगरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-९ बीरेन्द्रचोक ओमटोल डेरा गरी बस्ने उदयपुर त्रियुगा नगरपालिका-५ घर भएका २० वर्षीय पुरन मगर लगायत ३ जनालाई नियन्त्रित लागूऔषध ३२ एम्पुल फेनारगन, ३२ एम्पुल डाइजेपाम, ३३ एम्पुल नोर्फिन र २ सय ८५ ट्याब्लेट नाइट्राभेट सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । 

झापा, मेचीनगर नगरपालिका-६ स्थित मेचीपुलबाट ३ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित दमक नगरपालिका-१ डेरा गरी बस्ने पाचँथर आङना घर भएका २३ वर्षीय गणेश खत्रीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । म्याग्दी, मालिका गाउँपालिका-३ डाँडागाउँ पात्ले बस्ने ६३ वर्षीय हर्क बहादुर रोकालाई २० किलो ९ सय ग्राम अवैध लागूऔषध पोल्याण्ड, ५ थान र्‍यापिङ पेपर, १ थान चाल्ने मेशिन, ५ वटा बिभिन्न तौलका ढकहरु, ४ थान धुलो बनाउन प्रयोग गरिने सेतो रङको प्लाष्टिक र ३ थान कपडा सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

कपिलवस्तु, कृष्णनगर नगरपालिका-२ लिंगेटबाट ३ ग्राम ८ सय २० मिलिग्राम अवैध लागूऔषध अफिम जस्तो देखिने कालो पदार्थसहित भारत घर भएका ४५ वर्षीय जोरपृत सिंहलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पर्सा, ठोरी गाउँपालिका-५ स्थित पर्सा राष्ट्रिय निकुञ्ज निर्मल बस्तीबाट २९ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ । 

Logo