अब हरेक विद्यालयमा स्काउट, ६ दिनमा तयार गरियो रोभर रेन्जर प्रशिक्षक (भिडियो)

अब हरेक विद्यालयमा स्काउट, ६ दिनमा तयार गरियो रोभर रेन्जर प्रशिक्षक (भिडियो)


बालबालिका तथा युवा वर्गलाई अधिक मात्रामा स्काउटिङमा सहभागी गराईं उनीहरूको शारीरिक, मानसिक र बौद्धिक विकास गरी अनुशासित र स्वावलम्बी बनाई देश विकास कार्यमा सहभागी गराउन नेपाल स्काउट सधैं सक्रिय छ । बालबालिका तथा युवा वर्गलाई जनसेवी, कर्तव्य परायण, अनुशासित, स्वावलम्बी, चरित्रवान तथा सुयोग्य नागरिक बनाउन क्रियाशिल छ ।

यसैक्रममा नेपाल स्काउटले नुवाकोटको ‘ककनी अन्तर्राष्ट्रिय स्काउट सेन्टर’मा ६ दिने ‘रोभर रेन्जर’ आधारभूत तालिम सम्पन्न गरेको छ । नेपाल सरकार र नेपाल स्काउटको संयुक्त पहलमा सातै प्रदेशका स्काउटका सदस्यहरुको सहभागितामा ६ दिन पाँच रातसम्म सञ्चालन गरिएको उक्त तालिम शनिबार युवा तथा खेलकुद मन्त्री दावा तामाङको प्रमुख आथित्यतामा समापन गरिएको हो ।

दीर्घकालमा देशव्यापी रूपमा युवाहरू स्काउट हुनु पर्छ भन्ने मान्यताकासाथ १६ देखि २५ वर्ष उमेर समूहका युवाहरूलाई स्काउटको तालिम प्रदान गर्न सक्षम स्काउट मास्टर तयार गर्न यो तालिमको आयोजना गरिएको नेपाल स्काउटका तदर्थ समितिका संयोजक लोकबहादुर भण्डारीले बताए । 

युवा तथा खेलकुद मन्त्रालय मातहतमा रहेको नेपाल स्काउटले अब, देशभरका विद्यालयमा शिक्षा मन्त्रालयमार्फत नीतिगतरूपमै नेपाल स्काउट पु¥याउने लक्ष्य तय गरेको छ । यसको पूर्वतयारी अर्थात् १६ देखि २५ वर्ष उमेर समूहका युवाहरूलाई प्रशिक्षण गराउन सक्षम स्काउटहरू तयार गर्न यो तालिमको आयोजना गरिएको संयोजक भण्डारीको भनाइ छ ।

यस तालिममा सात वटै प्रदेशबाट १ सय ९२ जना प्रशिक्षार्थी सहभागी थिए भने, ती प्रशिक्षार्थीहरूलाई २० जना प्रशिक्षकहरूद्वारा प्रशिक्षण गराइएको नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक देवराज घिमिरले बताए । उनका अनुसार यो तालिम ‘रोभर रेन्जर’ स्काउटका लिडरहरूलाई प्रदान गरिने आधारभूत तालिम हो । जसले १६ देखि २५ वर्ष उमेर समूहका युवाहरूलाई प्रशिक्षण दिई युवाहरूको मानसिक, शारीरिक, सामाजिक, आध्यात्मिक तथा भावनात्मक विकाश गराउने र स्थानिय, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमै एउटा सक्षम नागरिक बनाउन सहयोग पुर्याउँछ ।

समापन कार्यक्रममा युवा तथा खेलकुदमन्त्री दावा तामाङले बालबालिका तथा युवाहरुलाई सचेत नागरिक बनाउन तथा उनीहरुको मानसिक र संवेगात्मक विकास गर्नका लागि यस्ता तालिम महत्वपूर्ण हुने बताए । उनले स्काउटले प्रवाह गर्ने यस किसिमका तालिमहरुले बालबालिका तथा युवाहरुमा सकारात्मक भावनाको विकास गराउनका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा युवाहरूको सक्षमता वृद्धीमा सहयोग पुग्ने पनि बताए ।

नेपाल स्काउट र नेपाल सरकारको संयुक्त पहलमा देशभरका ७ सय ५३ वटै स्थानिय तहका विद्यालयहरुमा अनिवार्य स्काउटको व्यवस्था गर्ने कानूनी व्यवस्था गर्ने तयारी गरिरहेको र यसका लागि शिक्षा मन्त्रालयसँग युवा तथा खेलकुद मन्त्रालयको समन्वय भइरहेको र छिट्टै नै यो प्रस्ताव नयाँ नियमावालीका रूपमा कायम हुने समेत बताए । 

६ दिन लामो प्रशिक्षण कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूले पनि तालिम निकै प्रभावकारी भएको र नेपाल स्काउटको यो प्रयासले युवाहरूमा सकारात्मक परिवर्तनको संकेत गरिदिएको बताए । तालिममा सहभागि रिङ्कु वाग्लेले प्राप्त तालिमबाट युवामा सकारात्मक सोच सहितको विकास गराउन नेपाल स्काउटको प्लाटफर्म निकै नै उत्कृष्ट र फलदायी रहेको बताइन् । 
 

Logo