‘पार्टीमा ३ वर्षदेखि लागेको खिया हटाउने प्रयास गरेको हुँ’ : माधवकुमार नेपाल

‘पार्टीमा ३ वर्षदेखि लागेको खिया हटाउने प्रयास गरेको हुँ’ : माधवकुमार नेपाल


नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा ३ वर्षदेखि लागेको खिया हटाउने प्रयास आफूहरुले गरेको बताएका छन्। 

नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेपाल खनाल पक्षको युवा संघको राष्ट्रिय कार्यकर्ता भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले ३ वर्षदेखि पार्टीमा खिया लागेको र आफूहरुले खिया फाल्ने प्रयास गरिरहेको बताएका हुन् । पूर्ववतरुपमा रहेका पार्टीका सबै संरचनाहरुको बैठक, भेला लगायत कार्य गर्दै कार्यकर्तामा फेरि उही उत्साह र एकता भर्ने गरि विचारलाई सफा बनाउने काम भइरहेको उनले स्पष्ट पारे ।

उनले पार्टी एकिकरणपछि एकता अगाडिकै अवस्थामा फर्कनु भनेर सर्वोच्च अदालतले फैसला गर्नु भनेको “जन्मेको बच्चा मान्दैनौ फेरि गर्भमा लैजाउ” भने जस्तै भएको टिप्पणी गरे। उनले भने, “सर्वोच्च अदालतले फैसला गरेछ, दुईवटा पार्टीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनाएको भएता पनि त्यो चाहीं हामी मान्दैनौ तिमीहरु पुरानै ठाउँमा फर्क भनेर उसले फैसला गरिदिएछ। यो जन्मेको बच्चा मान्दैनौं फेरि गर्भमा लैजाउ भने जस्तै फैसला हो । बच्चा जन्मिइसकेको छ। नयाँ संगठन अस्तित्वमा आइसकेको छ। त्यो मान्दिनँ भन्दियो सर्वोच्च अदालतले। फैसला गलत भएतापनि सर्वोच्च अदालतको फैसला भएकाले असहमति भएर पनि मान्दैनौं भन्न मिलेन। नाम मिलेन नाम जुध्यो भन्न सकिन्थ्यो। नाम फेरेर आउनुहोस् भन्न सकिन्थ्यो । नाम फेर्न पो भन्ने हो एकताको कुरै मान्दैनौ भन्ने। त्यो फैसलामा बहस फैसला त गर्दै गरौंला तर हामी निर्णय मान्न बाध्य छौं।”

पार्टीमा सबैभन्दा ठूलो समस्याको जड नै अध्यक्ष केपी ओली भएको भन्दै उनले सर्वोच्च अदालतको फैसलापछि पुर्ववत संरचनालाई नै अस्तित्वमा ल्याउँ भन्ने आफूहरुको प्रस्ताव ओलीले नमानेको दाबी गरे।

मुलुकभर पार्टीका सबै संगठनको राष्ट्रिय भेला गरिने भन्दै उनले किसान संघ, उत्पिडित समुदाय लगायतको राष्ट्रिय भेला गरि पुनर्जीवन र पुनर्ताजगी दिने बताए। उनले लोकतन्त्रको पक्ष र प्रतिगमनकारीविरुद्धको आन्दोलनमा आफूहरु एकताबद्ध भएर अघि बढ्ने बताए। पार्टीको सुदृढिकरण र विस्तारका लागि धेरै भन्दा धेरै युवालाई संगठनमा आवद्ध गर्न पनि उनले कार्यकर्तालाई निर्देशन दिए।

पार्टीको अवस्था देखेर झोक्र्याएर नबस्न उनले युवाहरुलाई निर्देशन दिए। उनले नयाँ उत्साह र जोशका वैचारिक अभियानमा पार्टी लागेको भन्दै यो अभियानले कम्युनिष्ट विरोधीलाई परास्त गर्ने दाबी गरे।

Logo