विश्व पानी दिवस आज, ‘मूल्यवान पानी’ भन्ने नाराका साथ मनाइँदै

विश्व पानी दिवस आज, ‘मूल्यवान पानी’ भन्ने नाराका साथ मनाइँदै


प्रत्येक वर्ष मार्च २२ तारिखका दिन मनाइने विश्व पानी दिवस आज विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। 
  
विश्वमा देखा परेको स्वच्छ खानेपानीको सङ्कट र यसको समाधानमा व्यक्ति, समुदाय, विभिन्न तहका सरकार तथा गैरसरकारी क्षेत्रलाई सजग, सचेत, सक्षम र सबल बनाउनका लागि संयुक्त राष्ट्रसङ्घले सन् १९९३ देखि मार्च २२ लाई विश्व पानी दिवसका रुपमा मनाउन थालेको हो।
 
यस वर्षको पानी दिवसको नारा ‘मूल्यवान पानी’ रहेको छ । हामीले यसका लागि जति मूल्य तिर्छौं, त्योभन्दा बढी स्वच्छ खानेपानीको महत्व छ भन्ने तथ्य आम नागरिकलाई बुझाउनु पर्ने यथार्थलाई आत्मसात् गर्दै संयुक्त राष्ट्रसङ्घले यो नारा तय गरेको जनाइएको छ। 
  
पानी पृथ्वीको सर्वश्रेष्ठ प्राणी मानिसका लागि मात्र नभई सबै जीव र वनस्पतिको जीवनको आधार हो। चेतनशील प्राणीका रुपमा मानवको जीवनका क्रियाकलाप पनि पानीमा निर्भर रहन्छन् । हाम्रा घरायसी क्रियाकलाप, खेतीपाती र पशुपालन जस्ता कृषि प्रणाली, स्वास्थ्य र आर्थिक क्रियाकलापदेखि धार्मिक एवं सांस्कृतिक संस्कारमा गर्भावस्थादेखि मरणोपरान्तसम्म पानीको आवश्यकता पर्दछ। 

पृथ्वीको दुई तिहाइ भू–भाग पानीले ओगटेको भए पनि स्वच्छ पानीका स्रोत कम छन्। असावधानीपूर्वक थालिएका विकास प्रयास र मानवीय हस्तक्षेपका कारणले भएका सीमित स्वच्छ पानीका स्रोतसमेत प्रदूषित भएका छन्। स्वच्छ पानी र गुणस्तरीय मानव जीवनको महत्व दर्शाउनका लागि नै विश्व खानेपानी दिवस मनाउन थालिएको हो।
   
संयुक्त राष्ट्रसङ्घले सन २०३० सम्म विश्वका सबै जनसङ्ख्यालाई स्वच्छ खानेपानी र सरसफाइको सुविधा उपलब्ध गराउने कार्यक्रम ल्याएको छ। दिगो विकास लक्ष्यका कार्यक्रम अन्तर्गतको यो लक्ष्य हासिल गर्न नेपालले १५औँ आयोजनामा पानीका उपलब्ध स्रोतको संरक्षण, सम्वर्धन र किफायती उपयोग गर्ने नीति, रणनीति, कार्यक्रम र योजना तय गरेको छ । 

यस अन्तर्गत सतहको पानी, वर्षाको आकाशे पानी, सतहमुनिको पानी तीनवटै स्रोतको उपयोग गर्ने नीति लिइएको छ। दिवसका अवसरमा नेपालमा पनि सरकारी, सामाजिक र निजी क्षेत्रबाट पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको जनाइएको छ।रासस

Logo