संसदीय समितिको स्वरुप फेर्नुपर्नेमा सांसदहरुको जोड

संसदीय समितिको स्वरुप फेर्नुपर्नेमा सांसदहरुको जोड


सांसदहरुले संसदीय समितिले गर्ने अनुगमन प्रभावकारी नभएको भन्दै स्वरुप फर्नुपर्नेमा जोड दिएका छन् । 

संघीय संसद प्रतिनिधिसभा अन्र्तगतको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा समितिको चालु र आगामी कार्यक्रमका सम्बन्धमा छलफल गर्दै सांसदहरुले परम्परागत रुपले गरिने अनुगमनले सम्बन्धित निकायको कार्यसम्पादनमा खासै फरक नपरेकाले औपचारिक रुपले भन्दापनि अनौपचारिक रुपले अनुगमन गरी वास्तविक तथ्य पत्ता लगाउनुपर्ने बताएका हुन् ।

नेकपा (एमाले) का सांसद नवराज सिलवालले सुशासन कायम गर्ने सम्बन्धमा विभिन्न सरकारी निकायमा औपचारिक रुपमा गरिने अनुगमनले उपलब्धी हासिल नगरेको भन्दै सुशासन कायम गर्ने सम्बन्धमा मिडियासँग अन्र्तक्रिया, विश्वविद्यालयका विद्यार्थीसँग अन्र्तक्रिया गर्नुपर्नेमा जोड दिए । त्यसैगरी नागरिकसँग बसेर नागरिकले पाएको सास्तीको बारेमा बुझेमा सम्बन्धित निकायको सेवा प्रवाहबारे नजिकबाट बुझिने भएकाले साधारण नागरिकसँग पनि छलफल गर्नुपर्ने उनको भनाइ छ ।

त्यस्तै नेपाली कांग्रसकी सांसद डिला संग्रौलाले अनुगमनलाई निरन्तरता दिनुपर्ने धारणा राखिन् । खुल्ला कारागारको अवस्थाका साथसाथै कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका अन्य सिमा जोडिएका जिल्लाहरुमा पनि अवलोकन गर्नुपर्नेमा उनको जोड छ ।

नेकपा (एमाले) का सांसद बृजेशकुमार गुप्ताले स्थानीय प्रशासनलाई थाहा नदिइ अनुगमन गर्नुपर्ने बताए । सांसदहरु ठूलो समूहमा नगइए एक÷दुई जनाको समूह बनाएर छड्के अनुगमन गर्नुपर्ने उनले जिकिर गरे ।

जनता समाजवादी पार्टी, नेपालका सांसद रामसहाय प्रसाद यादवले गोरखाको बारपाकमा भूकम्पपछि भएको पुर्ननिर्माण र जनजीवनको सम्बन्धमा स्थलगत अनुगमन गर्नुपर्ने बताए । सरकारले के–कस्तो सेवा, सुविधा दिइरहेको छ र स्थानीयको अवस्था कस्तो छ, वास्तविक तथ्य बुझ्नका लागि यो अनुगमन आवश्यक रहेको उनको भनाई छ ।

बैठकमा नेकपा (एमाले) का सांसद लालबाबु पण्डितले समितिले आगामी दिनको कार्यक्रम आफ्नो स्रोत र साधनले भ्याउने मात्रै बनाउनुपर्ने बताए । पुरा गर्न नसक्ने गरी कार्यक्रम बनाउनु नहुने उनको जिकिर छ । प्रतिनिधिसभाको पुर्नस्थापनापछि संघीय संसदका विभिन्न समितिहरुले नियमित बैठक गरिरहेका छन् भने समितिले आगामी दिनमा गर्ने कामहरुको बारेमा छलफल, परामर्श गरिरहेका छन् ।

Logo