काठमाडौं
यो वर्षको एसईई परीक्षाको परीक्षाफल प्रकाशन ढिलो हुने सम्भावना भएको छ । कर्मचारीको अभावमा परीक्षाफल प्रकाशित हुन ढिलो हुने भएको हो । २६ जिल्लाका शिक्षा समन्वय समिति प्रमुखको संघ र प्रदेशमा समायोजन भएकोले ती जिल्लामा कस्ले उत्तरपुस्तिका बुझ्ने भन्ने विषय नै टुङ्गो लागेको छैन ।
२६ जिल्लाका शिक्षा प्रमुख अभाव हुने भएपछि परीक्षाफल प्रकाशित गर्न समस्या हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले कर्मचारी नभएकाले कतिपय जिल्लामा उत्तर पुस्तिका बुझ्नै समस्या भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो–कर्मचारीको चरम अभाव देखिएको छ, कसरी समयमै परीक्षाफल प्रकाशित गर्ने ?
कतिपय जिल्लामा उत्तरपुस्तिका बुझ्ने कर्मचारी नै छैनन् । समायोजनमा परेका कर्मचारी संघ र स्थानीयमा जान थालिसकेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एसइइ अवधीभर कुनै पनि जिल्ला शिक्षा समन्वय कार्यालयका कर्मचारीलाई समायोजनमा परेको जिल्ला नजान आग्रह गरेको थियो ।
अब परीक्षा सकिएको छ, समन्वयमा परेका कर्मचारी संघ र प्रदेशमा जान थालिसकेका छन् । समायोजनमा परेका कर्मचारी २१ दिनभित्र समायोजनमा परेका निकायमा जानुपर्ने व्यवस्था छ ।
नेपाल समाचारपत्रबाट
प्रकाशित: २८ चैत २०७५ ०७:०० बिहीबार