‘पेवेल’सँग नेपाल सुपर लिगको टिकेटिङ सम्झौता

‘पेवेल’सँग नेपाल सुपर लिगको टिकेटिङ सम्झौता


अर्को महिना आयोजना हुने नेपाल सुपर लिग (एनएसएल) का  लागि नेपाल स्पोर्ट्स इभेन्ट म्यानेजमेन्टले टिकटिङ पार्टनरको रुपमा पेवेलसँग सम्झौता गरेको छ।

नेपाल स्पोर्ट्स म्यानेजमेन्टले बुधबार एक कार्यक्रम गरेर पेवेलसँग सम्झौता गरेको हो। नेपाल सुपर लिगकी अध्यक्ष आश्रेयता कार्की चौधरी र पेवेलमन प्रमुख कार्यकारी अधिकृत भिमप्रसाद तिमिल्सिनाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार पहिलो पटक हुन लागेको फ्रेन्चाइज प्रतियोगितामा पेवेलले आधिकारिक रुपमा टिकट विक्री गर्नेछ ।  यद्यपि टिकट दर भने अझै सार्वजनिक भएको छैन। आउँदा कार्यक्रममा टिकट दर सार्वजनिक गरिने आयोजकले जनाएको छ। विगतमा टिकट वितरणमा भएको कमी कमजोरीलाई अध्ययन गरेर अर्को महिना हुन लागेको प्रतियोगिताका लागि टिकट वितरण गर्न लागेको पेवेलले बताएको छ।

फ्रेन्चाईज टोलीलाई सहभागि गराएर सञ्चालन गर्न लागिएको पहिलो संस्करणको लिगमा ७ फ्रेन्चाइज टोलीले सहभागिता जनाउँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने लिग बैशाख ११ गतेदेखि २५ गतेसम्म सञ्चालन हुँदैछ। 

लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसीले प्रतिस्पर्धा गर्दैछन्। अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने लिग राउण्ड रोबिनको आधारमा हुनेछ। 

Logo