‘कोही प्रधानमन्त्री हुन पाएन भने प्रतिगमन हुन्छ ?’

‘कोही प्रधानमन्त्री हुन पाएन भने प्रतिगमन हुन्छ ?’


प्रधानमन्त्री केपी ओलीले कसैले आफू प्रधानमन्त्री हुन नपाउँदा प्रतिगमन भयो भन्नु आत्मसन्तुष्टि मात्रै भएको टिप्पणी गरेका छन् । ‘प्रतिगमन भयो भन्ने स्यालहुइँया मच्चाए । कहाँ भयो प्रतिगमन ? प्रतिगमन भनेको के हो ? परिभाषा नै नबुझी प्रतिगमन भयो भन्ने ?’

शुक्रबार मेलम्ची खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममा ओलीले भने, ‘ख्यालठट्टा हो प्रतिगमन भनेको ? यतिसाह्रो जनता अलमल्याउने ? कोही शासनमा पुग्न पायो भने क्रान्ति भइहाल्ने, कोही शासनमा पुग्न पाएन भने प्रतिगमन भइहाल्छ ? कोही प्रधानमन्त्री हुन पाएन भने प्रतिगमन हुन्छ ?’

ओलीले केहीलाई अवैध बाटोबाट आफू प्रधानमन्त्री हुन पाउनुपर्छ भन्ने लागेको र त्यसो हुन नसक्दा प्रतिगमन भयो भनेर अफवाह फैलाएको बताए । ‘संविधान च्यातियो, मासियो, गणतन्त्र खत्तम हुने भयो, लोकतन्त्र खत्तम हुने भयो, संघीयता त ध्वस्तै पार्न आँट्यो भन्ने खालका कुराहरू व्यक्तिगत आकांक्षाका परिपूर्ति नहुँदा असन्तुष्टि अभिव्यक्त गर्ने कुरा मात्रै हुन्,’ ओलीले भने ।

ओलीले पुनर्स्थापित प्रतिनिधिसभाको भूमिकालाई लिएर फेरि असन्तुष्टि पोखेका छन् । ओलीले तानातान गर्ने थलो बनाइएका कारण संसद् कुनै काम गर्न नसक्ने अवस्थामा पुगेको बताए । ‘संसद् पुनर्स्थापना भयो । पुनर्स्थापित संसद् न काम अघि बढाउन सक्छ न केही गर्न सक्छ । त्यस्तो स्थितिमा संसद् तानातानको एउटा थलो भएको छ । संसद्लाई तानातानको थलो बनाउने होइन ।

दलका, व्यक्तिका, केही बलिया व्यक्ति हौँ भन्नेका स्वार्थको तानातानको थलो संसद् हुनु हुँदैन,’ ओलीले भने, ‘संसद्मा देशबारे, जनताबारे र विकास निर्माणबारे सोचिनुपर्छ । देशलाई कसरी अघि बढाउने भन्नेबारे संसद्ले सोच्नुपर्छ । देशमा शान्ति, सुव्यवस्था, अमनचयन कसरी राख्ने भन्नेबारे संसद्ले सोच्नुपर्छ ।’

उनले आफूले पहिले पनि सरकारलाई काम गर्न दिइएन भनेर भनेको र अहिले पनि अवस्था उतै रहेको बताए । ओलीले अन्योल र अस्थिरतामा रुमल्लिरहने कुरा हुन नसक्ने भन्दै विकासको बाटोमा अघि बढ्ने बताए । ‘तपाईंहरूले सुन्नुभएको छ, गोपालप्रसाद रिमालले लेख्नुभएको ‘ढुंगाको काप फोरेर पनि उम्रन्छ पीपल’ भन्ने गीत । हो अब त्यस्तै हुन्छ,’ उनले भने । नयाँ पत्रिका दैनिकमा समाचार छ । 

Logo