शारीरिक सम्पर्ककाे विषयमा विवादपछि हत्या : हत्यामा संलग्न रहेको अभियोगमा ४ पक्राउ

शारीरिक सम्पर्ककाे विषयमा विवादपछि हत्या : हत्यामा संलग्न रहेको अभियोगमा ४ पक्राउ


रामेछापको दोरम्बा गाउँपालिका-६ घर भएकी पुर्णकला भन्ने पुजा दमाईको हत्यामा संलग्न रहेको अभियोगमा काभ्रे रोशी गाउँपालिका-४ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-८ सिपाडोल डेरा गरी बस्ने रोशन भन्ने २२ वर्षीय बिजय तामाङलाई सोमबारराति प्रहरीले पक्राउ गरेको छ ।

बनेपा नगरपालिका-८ स्थित सडकमा आइतबार बिहान पुजा दमाई मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय काभ्रे र ईलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले घटनामा संलग्न उनलाई भक्तपुर सूर्यविनायक नगरपालिका-८ सिपाडोलस्थित डेराकोठाबाट पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा तामाङले आफूलाई चोरीको आरोप लगाएकोले रिसको झोकमा अत्यधिक मदिरा सेवन गरेकी पुजालाई बसपार्कको सडक पेटीमा कन्चट, छाती लगायत शरीरका विभिन्न संवेदनशिल अङ्गहरूमा प्रहार गरी हत्या गरेको खुल्न आएको छ ।

यसैगरी करिब ३५ वर्षीया महिलाको हत्या गरेको अभियोगमा ३ जना किशोर र १ जना किशोरीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । बनेपा नगरपालिका-८ स्थित बसपार्कमा पार्किङ गरी राखेको बा.२ ख २४२७ नम्बरको बसभित्र ती महिला आइतबार मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय काभ्रे र ईलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा मृतक महिलासँग शारीरिक सम्पर्क गर्ने कार्यमा विवाद भई घटनामा आफूहरुको पहिचान खुल्ने डरले सबै जना मिली हत्या गरेको खुल्न आएको छ । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

Logo