२० मंसिर २०७८ सोमबार

0 Shares

सुपथ मुल्य पसल शुरु, १० प्रतिशतसम्म छुट

सरकारले आजबाट दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरी सुपथ मुल्य पसल सञ्चालनमा ल्याएको छ । विगत वर्ष झैं यो वर्ष पनि दशैं, तिहार तथा छठपर्वलाई लक्षित गरी सुपथ मुल्य पसल शुरु गरेको हो ।

काठमाडौं उपत्यकाभित्र र बाहिर गरी ४७ स्थानमा सुपथमूल्य पसल सञ्चालन भएको छ । सुपथ मूल्यका पसल कात्तिक २७ गतेसम्म संचालन हुने छन् । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको संयोजनमा संचालित यस्तो बजारमा साल्ट ट्रेडिङ, खाद्य संस्थान, दुग्ध विकास संस्थान र बिभिन्न सहकारीहरुले आफ्नो उत्पादनहरु सहुलियत मुल्यमा बिक्रि गर्दै छन् । सुपथ मूल्य पसलले विद्यमान मूल्यमा ५ देखि १० प्रतिशतसम्म छुट दिने भएका छन् ।

सुपथ पसल उपत्यकामा कालीमाटी, कोटेश्वर, टेकू, सिंहदरबार, सतुंगलका साथै भक्तपुर र ललितपुरका बिभिन्न स्थानमा पनि सुपथ मूल्य पसल सञ्चालन हुँदै छन् । यसका साथै बिभागले बिभिन्न ठाउँमा घुम्ती पसलहरु पनि संचालन गर्दैछन् ।

कुन सामानमा कति छुट ?

साल्ट ट्रेडिङ्ग कर्पोरेशनले काठमाडौं स्थित कार्यालय अन्तर्गत ९ वटा स्थान र ३ वटा घुम्ती सेवा पसल तथा त्रिशुली विक्री डिपो सञ्चलन गर्नेछ । साथै कर्पोरेशनको २२ वटा कार्यालय सहित ३६ स्थानहरुमा सुपथ मुल्य पसल सञ्चालन गर्ने भएको छ । कर्पोरेसनले प्रतिकेजी नुनमा २ र चिनीमा ५ रुपैँया छुट दिने भएको छ ।

नेपाल खाद्य संस्थान सहुलियत दरको चामल, खसी, बोका, नुन , तेल र चिनी लगायतको दैनिक उपभोग्य बस्तु सुपथ मुल्यमा उपलब्ध गराउने जनाएको छ । यस्ता सुपथ मुल्य पसलबाट मसलामा १० रुपैँया, सानो मन्सुली चामल प्रतिकेजी ५ रुपैयाँ, जिरा मसिनोमा ५ रुपैँया, बास्मती चामल १० रुपैँया, गोरखनाथ चामलमा १० रुपैंया, जापानीज चामलमा ५ रुपैँया, जुम्ली सिमी र तिते फापरमा प्रतिकेजी १० रुपैँयामा छुट हुने जनाएको छ ।देशभरका आफ्ना गोदाम तथा कार्यालयबाट पनि सुपथ मूल्यमा खाद्य सामग्री बिक्री वितरण गर्ने भएको छ।

संस्थानले घटस्थापनादेखि खसीबोका र च्याङ्ग्रा पनि बिक्री वितरण गर्ने जनाएको छ। खसीबोका तथा च्याङ्ग्रा प्रचलित मूल्यभन्दा प्रतिकेजी १० रुपैंया छुट दिने जनाएको छ।

दुग्ध विकास संस्थानले ध्यूमा प्रति लिटर ५० रुपैया र पनीरमा प्रतिकेजीब २० रुपैयाँ छुटमा दिने भएको छ । त्यस्तै संस्थानको उत्पादन बटर दही, चिज, लालमोहन, रसवरी, पेडा, लस्सी, आइसक्रिमजस्ता वस्तुमा पनि छुटसहित बिक्री वितरण गर्नेछ।

त्यसै गरि सहकारी पसलहरुले दाल चामलमा ३ प्रतिशत छुट दिने भएका छन्। घ्यू तेलमा ३ रुपैयाँ प्रतिलिटर छुट दिने छ। त्यस्तै ५ लिटर खरिद गरेमा भने १ सय ५० रुपैंया छुट दिने छ ।

प्रकाशित: १२ असोज २०७५ १०:३८ शुक्रबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी