सुदूरपश्चिमका चिकित्सक भन्छन्–कोरोना संक्रमितको उपचार थेग्न नसक्ने स्थिति आइसक्यो

सुदूरपश्चिमका चिकित्सक भन्छन्–कोरोना संक्रमितको उपचार थेग्न नसक्ने स्थिति आइसक्यो


२०७८ साल वैशाख ११ गते शनिबार राति। महाकाली अस्पताल, महेन्द्रनगरमा उपचार गराइरहेका एक कोरोना संक्रमितको अवस्था जटिल बन्यो। उनका आफन्तले बिरामीलाई सेती प्रादेशिक अस्पताल, धनगढी लैजान खोजे।

तर, सेती प्रादेशिक अस्पतालमा भन्टिलेटर नभएको चिकित्सकले जानकारी दिए। त्यसपछि आफन्तले बिरामीलाई थप उपचारका लागि धनगढी लैजान सकेनन्। 

अस्पताल प्रशासनका अनुसार सेती प्रादेशिक अस्पतालको ४० शैयाको कोरोना अस्पताल संक्रमितले भरिसकेको छ। चारवटै भेन्टिलेटरमा संक्रमितको उपचार भइरहेको छ। आइसियुका १० वटा बेडमा बिरामी छन्। 

आइसियुका दुई बिरामी डिस्चार्ज हुँदा ६ जना बिरामी पालो कुरेर बसेका थिए। दुईजनाले त आइसियुको बेड पाए। चारजना अझै ‘वेटिङ’मै छन् ।

महाकाली अस्पतालका चिकित्सक तथा कर्मचारीमा समेत कोरोना संक्रमण देखिएको छ। एक चिकित्सक, प्रशासन तथा लेखा शाखामा कार्यरत ६ जना कर्मचारी, स्वीपरसमेत गरी १४ जनामा कोरोना संक्रमण पाइएको छ। संक्रमितहरूको उपचार भइरहेको छ।

डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कोरोना प्रयोगशालामा कार्यरत एक प्राविधिकसहित दुईजनामा कोरोना पोजिटिभ पाइएको छ। अरुको कोरोना परीक्षण गर्ने ल्याब टेक्निसियन यतिबेला आफंै उपचारका क्रममा अस्पताल भर्ना भएका छन्।

माथि उल्लेखित चार उदाहरणले नै प्रष्ट पार्छ, सुदूरपश्चिममा कोरोना संक्रमणको भयावह अवस्था। अब कोरोना संक्रमण भारतबाट आउनेहरुमा मात्र सीमित छैन। समुदाय हुँदै यो उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी र ल्याव टेक्निसियनहरुसम्म पुगिसक्यो।

महाकाली अस्पतालमा कोरोना संक्रमितहरुको लागि प्रिफ्यावको ५० शैयासहित ८० शैयाको व्यवस्था गरिएको छ । जहाँ अहिले ४७ जनाको उपचार भइरहेको छ। अस्पतालका सूचना अधिकारी नारदप्रसाद भट्टले संक्रमितको संख्या दिन दुगुना र रात चौगुना हुँदै गएकोले उपचार थेग्न नसक्ने अवस्थामा पुगिरहेको बताए।

महाकाली अस्पतालमा आइसियुका ६ वटै बेडमा कोरोना संक्रमित छन् । महाकाली अस्पतालका मेडिकल सुपरीटेण्डेट डा. हरिश श्रेष्ठले कोरोना संक्रमितको उपचारका लागि अहिलैकै संरचना र स्वास्थ्यकर्मीको संख्या पर्याप्त नभएको बताए।

सेती प्रादेशिक अस्पतालका कन्सलट्यान्ट फिजिसियन डा. निराजन शर्माले संक्रमितको उपचार नियन्त्रणभन्दा बाहिर गएकोले तत्काल अक्सिजनसँगै शैया र चिकित्सकहरुको संख्या थप्न आवश्यक भएको बताए । डा. शर्माले संक्रमितहरू उपचारका लागि शैया नपाएर पालो कुरेर बसिरहेको जानकारी दिए।

उनले कोरोना रोकथाम र नियन्त्रणका लागि लकडाउनको विकल्प नभएको बताए। ‘लापरबाहीको हद भयो। कोही पनि जिम्मेवार भएनन । जनस्वास्थ्यका मापदण्ड पटक्कै लागू भएनन्,’ शर्माले भने, ‘संक्रमणको वृद्धि दरले भयावह रुप लिइसक्दा पनि जनस्वास्थ्यका मापदण्ड पालना भएनन्। यसले गम्भीर परिणाम निस्किने निश्चित छ।’

Logo