उपत्यकामा निषेधाज्ञाबारे निर्णय हुन अझै बाँकी

उपत्यकामा निषेधाज्ञाबारे निर्णय हुन अझै बाँकी


कोभिड–१९ संक्रमण तीव्र रूपमा फैलन थालेपछि उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लगाउने तयारी भएको छ। निषेधाज्ञाबारे काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूबीच छलफल भएकाे छ।

यसबारे औपचारिक निर्णय भने भएको छैन। ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा जारी गर्नेबारे छलफल भएको बताए। ‘कोभिड–१९ नियन्त्रणका लागि अपनाउनुपर्ने अधिकतम उपायबारे छलफल भएको छ, कुन दिनदेखि निषेधाज्ञा जारी गर्ने भन्नेबारे निर्णय चाहिँ भएको छैन,’ निरौलाले केन्द्रबिन्दुसँग भने।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को आइतबार बसेको बैठकले पाँच सयभन्दा बढी सक्रिय संक्रमित भएका सहरी क्षेत्र निषेधाज्ञा जारी गर्न सरकारलाई सिफारिस गरेको थियो। त्यसैगरी, दुई सयभन्दा बढी सक्रिय संक्रमित भएका पहाडी जिल्लामा पनि निषेधाज्ञा लगाउन सिसिएमसीले सुझाएको थियो। सरकारले संक्रमण अनियन्त्रित बन्दै गएमा निषेधाज्ञ लगाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिए पनि उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले यसबारे निर्णय लिन सकेनन्।

मन्त्रालय स्रोतले जनाए अनुसार वैशाख १६ देखि कम्तीमा तीन साता निषेधाज्ञा जारी गर्नेबारे छलफल भइरहेको छ। ‘कम्तीमा दुई–तीन दिन राजधानीबाट बाहिर घर जान चाहनेलाई मौका दिने गरी निषेधाज्ञाको तयारी गरिएको छ,’ स्रोतले भन्यो। अब मन्त्रिपरिषद् बैठकले निर्णय गरेपछि मात्र निषेधाज्ञा लागू हुनेछ। 

निषेधाज्ञा जारी भएमा खाद्यपदार्थ र औषधि पसलबाहेकका पसल बन्द गर्ने र निजी तथा सार्वजनिक यातायात पनि बन्द हुन सक्ने बताइएको छ।

Skip This
Logo