कर्णालीमा एकैदिन आठ सङ्क्रमितको मृत्यु

कर्णालीमा एकैदिन आठ सङ्क्रमितको मृत्यु


कोभिड–१९ को सङ्क्रमणबाट कर्णालीमा आठ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सेवा निर्देशनालयले आज प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो २४ घण्टामा आठ कोरोना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । 

मृत्यु हुनेमा पञ्चपुरी नगरपालिका–५ सुर्खेतका ६३, वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेतका ४५, वडा नं. ८ का ६३, वडा नं. ११ का ५३ र १२ नं. वडाका ४० वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य सेवा निर्देशनालयका निमित्त निर्देशक डा रविन खड्काले जानकारी दिए । 

त्यस्तै सिद्धकुमाख गाउँपालिका–२ सल्यानका ४२, मुसिकोट नगरपालिका–४ रुकुमपश्चिमका ६० वर्षीय पुरुष र नारायण नगरपालिका–६ दैलेखका २७ वर्षीया महिलाको मृत्यु भएको निमित्त निर्देशक डा खड्काले बताए । मृत्यु भएका सुर्खेतका तीन व्यक्तिमा आरटी पिसीआर र बाँकी अन्य जिल्लाका पाँच जनामा एन्टिजेन पोजेटिभ देखिएको उनले जनाए ।

निर्देशनालयका अनुसार प्रदेश अस्पतालमा चार, सल्यान जिल्ला अस्पताल, रुकुमपश्चिम र दैलख जिल्ला अस्पतालमा एक/एकको मृत्यु भएको हो । कर्णालीमा एकै दिन आठ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको भने यो पहिलो घटना हो । मृतक सबैको जनस्वास्थ्य सेवा कार्यालयको समन्वयमा नेपाली सेनाले शव व्यवस्था गरिरहेको बताइएको छ । 

आज थपिएसँगै कर्णालीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४७ पुगेको छ ।

Logo