भारतमा एकै दिन तीन लाख २९ हजार कोरोना सङ्क्रमित निको भए

भारतमा एकै दिन तीन लाख २९ हजार कोरोना सङ्क्रमित निको भए


पछिल्लो २४ घण्टामा भारतमा तीन लाख २९ हजार ११३ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या एक करोड ७२ लाख ८० हजार ८४४ पुगेको छ। 

यस्तै कोरोना भाइरस महामारीका कारण भारतमा पछिल्लो एक दिनमा झण्डै चार हजारको मृत्यु भएको छ। सरकारी अधिकारीहरुले बिहीबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन हजार ९८० जनाको मृत्यु भएको हो। 

योसँगै भारतमा कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको कुल संख्या दुई लाख ३० हजार १६८ पुगेको छ। भारतमा पछिल्लो एक दिनमा कोरोना भाइरसबाट अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएको पाइएको छ। 

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा भारतमा देशभरी गरेर कुल चार लाख १२ हजार २६२ जना सङ्क्रमित भएको जानकारी दिएको छ। एकै दिनमा यति धेरै सङ्क्रमित भएको यो पहिलो पटक भएको सरकारी अधिकारीहरुले जनाएका छन्।  

भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म कुल दुई करोड १० लाख ७७ हजार ४१० जना सङ्क्रमित भएका छन्। भारतमा अहिले पनि ३५ लाख ६६ हजार ३९८ जना कोरोना भाइरसबाट सङ्क्रमित भइरहेकै अवस्थामा रहेका छन्। 

भारतीय स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार यही मे ५ तारिखसम्ममा भारतमा २९ करोड ६७ लाख ७५ हजार २०९ कोभिडको नमुना परीक्षण गरिएको छ। ती मध्ये १९ लाख २३ हजार १३१ जनाको बुधबार परीक्षण गरिएको हो। 

भारतमा अहिलेसम्म १६ करोड २५ लाख १३ हजार ३३९ मात्राको कोरोना भाइरसविरुद्धको खोप प्रयोग भएको मन्त्रालयले जनाएको छ।

भारतमा कोरोनाको परीक्षण र खोप अभियान एकातिर चलिरहेको छ भने अर्कोतिर कोरोना भाइरसबाट सङ्क्रमित भएका र मृत्यु भएकाहरुको सङ्ख्या पनि दिन प्रतिदिन बढ्दो छ।

Logo