काठमाडौं
मेलम्ची खानेपानी आयोजना द्रुत प्रक्रिया ( फास्ट ट्रयाक) बाट सम्पन्न गरिने भएको छ । मेलम्ची खानेपानी विकास समितिको बोर्डले द्रुत प्रक्रियाबाट काम सम्पन्न गर्ने निर्णय गरेको हो । निर्णय खानेपानी मन्त्रालयले मन्त्री परिषदमा पेस गरिसकेको छ । मन्त्रिपरिषद्को निर्णयपछि द्रुतमार्गबाट आयोजना सम्पन्न गरिने समितिले जनाएको छ ।
समितिले निर्माण कम्पनीसँग सम्झौता रद्द गरेपछि परियोजना सम्पन्न गर्न दुईवटा प्रस्ताव ल्याइएको थियो । दुई प्रस्तावमध्ये समितिले द्रुतमार्गबाट जाने निर्णय गरेको हो । जसमा सार्वजनिक खरिद ऐन २०६३ को दफा ६६ तथा सार्वजनिक खरिद नियमावली २०६४ को दफा १४५ अनुसार विशेष परिस्थितिको कारण जनाइ खरिद प्रक्रिया पु¥याएर छिटो काम सम्पन्न गर्ने भनिएको छ ।
मन्त्रिपरिषद्को निर्णय पश्चात् प्रक्रिया अघि बढाइने छ । बाँकी काम नेपाली निर्माण कम्पनीहरूले नै गर्नसक्ने समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले बताउनुभयो । उहाँका अनुसार त्यस्ता काम विभाजन गरी ठेक्का दिइने छ । सार्वजनिक सूचना गरी खुला प्रतिस्पर्धाबाटै नेपाली कम्पनीले काम गर्नेछन् । सूचना तथा सम्झौताका प्रक्रियाको समयावधि घटाएर प्रक्रियाबाटै काम हुने बताइएको छ ।
सरकारले निर्माण कम्पनीबाट दुई अर्ब ५६ करोड ठेक्कापछिको कार्यसम्पादन जमानतबापतको रकम, धरौटीबापतको ४० करोड रुपियाँ र भुक्तानी गर्न बाँकी २० करोड रुपियाँ, उपकरण तथा निर्माण सामग्रीको करिब एक अर्ब र तनहुँ परियोजनाको दुई अर्ब रुपियाँ धरौटीसहित पाँच अर्ब ७० करोड रुपियाँ जफत गरेको छ । आयोजनाको कुल लागत २७ अर्ब ७६ करोड रहेको छ । सुरुङ खन्नका लागि सात अर्ब ७२ करोड रुपियाँमा सम्झौता भएको थियो ।
गोरखापत्रबाट
प्रकाशित: १७ बैशाख २०७६ ०८:१९ मंगलबार