मध्यभोटेकोशीको साधारण शेयर बिक्री स्थगित

मध्यभोटेकोशीको साधारण शेयर बिक्री स्थगित


कोरोना कहरमा स्वास्थ्य मापदण्डसमेत पालना नगरी साधारण शेयर बिक्री गरेको भन्ने गुनासो आएपछि मध्यभोटेकोशी जलविद्युत् कम्पनीले अर्को सूचना नआएसम्मका लागि शेयर बिक्रीको कार्य स्थगित गरेको छ। 

नेपाल धितोपत्र बोर्डको वैशाख ५ गतेको स्वीकृति बमोजिम कम्पनीले आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका बासिन्दाका लागि साधारण शेयर बिक्री गरेको थियो। कम्पनीले  वैशाख २१ गतेदेखि सिन्धुपाल्चोकका लागि कूल ६० लाख कित्ता शेयर बिक्री थालेको थियो।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको बुधबारको आग्रहअनुसार बिहीबारदेखि शेयर बिक्री स्थगित गरिएको कम्पनीले जनाएको छ। कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक तथा अन्य विभिन्न छ कम्पनीलाई सहनिष्काशन तथा बिक्री प्रबन्धक तोकेको थियो ।

कूल ६० लाख कित्ता शेयरमध्ये सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाँउपालिका १ र ५, बाह्रबिसे नगरपालिका ५ र ६ का बासिन्दाका लागि कूल १८ लाख कित्ता र आयोजना प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोकका अन्य क्षेत्रका बासिन्दाका लागि ४२ लाख कित्ता शेयर बिक्री गर्न लागेको हो।

निषेधाज्ञा जारी रहेको अवस्थामा शेयर बिक्री गर्नु मनासिव नभएकाले तत्कालका लागि स्थगित गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामगोपाल शिवाकोटी र बिक्री प्रबन्धकका तर्फबाट ग्लोबल आइएमई क्यापिटलका नायब प्रमुख कार्यकारी अधिकृत पराग विष्टले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

कम्पनीले यसअघि कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि साधारण शेयर बिक्री गरिसकेको छ। तेस्रो चरणमा भने आम सर्वसाधारणलाई साधारण शेयर बिक्री गर्ने तयारी गरिएको छ । कम्पनीले सिन्धुपाल्चोकमा १०२ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ। कम्पनी चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी हो।

Logo