‘तीन सरकारबीच पर्याप्त समन्वय भएन’ : गाउँपालिका राष्ट्रिय महासङ्घ

‘तीन सरकारबीच पर्याप्त समन्वय भएन’ : गाउँपालिका राष्ट्रिय महासङ्घ


काठमाडौं ।

सङ्घीय सरकार र प्रदेश सरकारले स्थानीय तहसँग पर्याप्त समन्वय नगरेको मंगलबार आयोजित कार्यक्रमका वक्ताहरुले बताएका छन् । गाउँपालिका राष्ट्रिय महासङ्घले आयोजना गरेको ‘भर्चुअल पत्रकार सम्मेलन’ मा महासंघका पदाधिकारीले संविधानमा सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वय, सहकार्य र सहअस्तित्व हुने उल्लेख भए पनि समन्वय कम भएको भन्दै त्यसलाई बढाउनु पर्नेमा जोड दिए ।

महासङ्घका अध्यक्ष होमनारायण श्रेष्ठले कोभिड–१९ नियन्त्रणका लागि बजेट सङ्घीय सरकारसँग भए पनि उसले स्थानीय सरकारसँगको समन्वयमा थोरै स्थानमा मात्रै क्वारेन्टिन निर्माण गरेको बताए । उनले भने, “गाउँपालिका आफैँले यसको नियन्त्रणका लागि सकेसम्मका काम गरिरहेका छन् ।” संविधान अनुसार गाउँपालिकामा विभिन्न किसिमका अधिकार पाएपछि यसले कम स्थानीयस्तरका लगानीमा धेरै परिणाम दिएको अध्यक्ष श्रेष्ठले बताए। अझै पनि धेरै गाउँपालिकाको केन्द्रमा सडक नपुगेको र पुगेका पालिकाहरुमा पनि माटे सडक भएकाले केन्द्रसम्म कालोपत्रे सडक पुर्याउने कार्यक्रम अघि बढाउनु पर्नेमा उनको जोड छ । उनले भने, “यसका लागि सङ्घले बजेट पनि छुट्टाएको छ ।”

महासङ्घका महासचिव वंशलाल तामाङले अझै पनि एक तिहाइ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा कार्यसम्पादनमा समस्या परेको बताए। उनका अनुसार सङ्घीय सरकारले प्रमुख पठाएका स्थानमा पनि भर्खर बढुवा भएका वा यसअघि विकासे अड्डामा काम गरेको अनुभव नभएका व्यक्ति छन् । विकासका लागि राजनीति गरे पनि विकासमा राजनीति गर्न नहुने उनको धारणा छ ।

Logo