पिसीआरको दायरा बढाउन माग

पिसीआरको दायरा बढाउन माग


सप्तरी ।

सप्तरीमा कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न पिसीआर परीक्षणको दायरा बढाउनु पर्ने सरोकारवालाले जोड दिएका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले लकडाउन खुलेसँगै राजविराजसहित जिल्लाको विभिन्न ठाउँमा कोरोना सङ्क्रममित बढ्न थालेको जनाउँदै पिसीआर परीक्षणको दायरा वढाउन माग गरेको छ । जिल्लामा दैनिक सङ्क्रमणको अवस्था तथा आगामी चाडपर्वको समयमा हुने सम्भावित ओहरदोहर र भीडभाडका कारण जिल्लामा हाल भइरहेको परीक्षणको दायरा बढाउन माग गरिएको हो ।

सोही बैठककले जिल्लामा स्वाब परीक्षण गर्ने भिटीएम र किट (रिएजेन्ट) लगायतका स्वास्थ्य सामग्री सहयोग गरिदिन सङ्घ र प्रदेश सरकारलाई आग्रह समेत गरेको छ । बैठकमा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रञ्जीतकुमार झा र स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले कोरोनाको अवस्थाबारे अवगत गराएका थिए ।

सो बैठकमा विभिन्न निकायका सरोकारवाला, राजनीतिकर्मी, सञ्चारकर्मी, सुरक्षा निकायका पदाधिकारीको सहभागिता रहेको थियो । जिल्लामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ भने एक हजार ३६२ सङ्क्रमित भएका छन् । ती मध्ये एक हजार १०३ जना डिस्चार्ज भइसकेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख रहेको पाइएको छ ।

पाँच जना थपिए कोरोना सङ्क्रमित

सप्तरीमा प्रहरी नायव उपरीक्षक (डिएसपी) सहित थप पाँच कोरोना सङ्क्रमित थपिएका छन् । जिल्ला प्रहरी कार्यालयमा एक साताअघि आएका डिएसपीसहित पाँच जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवले बताए ।

उनका अनुसार राजविराज नगरपालिकाका–३ र सुरुङ्गा नगरपालिका एक जनामा सङ्क्रमण देखिएको हो । यससँगै सप्तरीमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ३६२ जना पुगेको छ । ती मध्ये एक हजार १०३ जना डिस्चार्ज भइसकेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा छ । कोरोनाबाट हालसम्म सप्तरीमा १९ जनाले ज्यान गुमाइसकेको जनाएको छ ।रासस

Logo