क्लिन फिड लागु भए नेपाली विज्ञापन बजार बढ्छ–भास्करराज राजकर्णिकार

क्लिन फिड लागु भए नेपाली विज्ञापन बजार बढ्छ–भास्करराज राजकर्णिकार


काठमाडौं । विदेशी च्यानलमा विज्ञापनरहित (क्लिन फिड) लागु भए नेपालको विज्ञापन बजार बढ्ने मिडिया अलायन्स नेपालका अध्यक्ष भास्करराज राजकर्णिकारले बताएका छन् । क्लिन फिड लागु नहुँदा नेपाली टेलिभिजन, छापा माध्यम र रेडियोको विज्ञापन बजार संकुचन भएको उनले बताएका हुन् । अध्यक्ष राजकर्णिकारले कात्तिक ७ गतेदेखि क्लिन फिड लागु भए नेपालको विज्ञापन बजार छोटो समयभित्रै १० अर्ब रुपैयाँ बढीले वृद्धि हुने उनको भनाइ छ । क्लिन फिड लागु भएपछि विदेशी ब्राण्डले नेपाली मिडियामा विज्ञापन गर्ने भएकाले पनि १० अर्ब बढीको विज्ञापन बढ्ने आँकलन गरिएको उनले बताए । जसबाट १२ अर्बमा रहेको नेपालको विज्ञापन बजार झण्डै २५ अर्ब पुग्ने उनको भनाइ छ ।

कात्तिक ७ गतेपछि क्लिन फिट लागु गर्न केही समस्या हुने भएपनि प्रविधिको प्रयोग गरी समस्या समाधान गर्न सकिने उनले बताए । विदेशी च्यानलमा पैसा तिरेर विज्ञापन हेर्नुपर्ने स्थितिको अन्त्य नहुँदासम्म नेपाली मिडियामा विदेशी विज्ञापन आउनै नसक्ने पनि उनको भनाइ छ । प्राविधिक समस्याका नाममा फेरि समय थप गर्न नहुनेमा उनको जोड छ । ऐन आएको एक वर्ष भइसकेकाले पनि तत्काल कार्यान्वयनमा जानुको विकल्प नरहेको उनले बताए । करिब ९० प्रतिशत विदेशी टेलिभिजनले विज्ञापनरहित प्रशारण गर्ने तय गरिसकेको र बाँकी १० प्रतिशतका लागि क्लिन फिड लागु गर्ने समय थप गर्न जरुरी नभएको उनको भनाइ छ ।

कुनै पनि विदेशी उत्पादनले नेपालका लागि बजार प्रवद्र्धन गरिरहेको छ भने आफ्नै देशको टेलिभिजनमा विज्ञापन गरी रहेकाले त्यस्तो अवस्थाको अन्त्यका लागि पनि क्लिन फिड आवश्यक रहेको उनको भनाइ छ । क्लिन फिड लागु भएपनि नेपालकै टेलिभिजनमार्फत बजार प्रवद्र्धन गर्नुपर्ने अवस्था आउने भएकाले नेपाली विज्ञापन बजार बढ्ने उनको विश्वास छ । यसबाट नेपालको विज्ञापन बजार दोब्बरले बढ्ने अवस्था आउने र नेपालका सञ्चार माध्यमहरु पनि आत्मनिर्भर बन्ने उनको भनाइ छ । यसबाट नेपालको समग्र सामाजिक आर्थिक विकासमा पनि योगदान पुग्ने उनले बताए ।

Logo