अभिव्यक्ति दिँदा विचार पुर्याउने गृहमन्त्री थापाको भनाइ

अभिव्यक्ति दिँदा विचार पुर्याउने गृहमन्त्री थापाको भनाइ


काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले महिला हिंसा र बलात्कारका घटनाका विषयमा आफूले दिएको अभिव्यक्तिले केही अलमल निम्त्याएको बताएका छन् । विश्वको तुलनामा नेपालमा बलात्कार र महिला हिंसाको अवस्था चिन्ताजनक छैन भन्ने अभिव्यक्ति विवादमा आएपछि थापाले आफ्नो अभिव्यक्तिले अलमल निम्त्याएको बताएका हुन् ।

राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा सोमबार भएको छलफलमा थापाले अन्य देशहरुको तुलनामा नेपालको अवस्था चिन्ताजनक नरहेको विश्लेषण गरेपछि केही अलमल भएकाले अबदेखि सजगता अपनाउने बताए । गृहमन्त्री थापाले गत बुधबार प्रतिनिधि सभाको राज्य व्यवस्था समितिको छलफलका क्रममा विश्वका २ सय बढी मुलुकको तथ्याङ्क विश्लेषण गर्दा नेपालको अवस्था चिन्ताजनक नरहेको अभिव्यक्ति दिएका थिए । उनले नेपालमा प्रतिदिन ६/७ वटा बलात्कारका घटना हुने गरेको जानकारी समेत दिएका थिए । आज समितिमा भएको छलफलमा सांसदहरुले अन्य देशको तुलना गरी नेपालको अवस्था चिन्ताजनक छैन भन्न नहुने बताएपछि गृहमन्त्री थापाले आफूले अब सजगता अपनाउने प्रतिवद्धता जनाएका छन् ।

त्यस्तै समिति छलफलमा गृहमन्त्री थापाले नेपालमा कोरोनापछि बलात्कारका घटना वृद्धि भइरहेको पनि बताए । विगतका वर्षहरुको तथ्याङ्क हेर्दा यो वर्ष घटनाहरु बढ्न सक्ने उनको भनाइ छ । सरकारले बलात्कार, महिला हिंसा र दलित समुदायमाथि हुने हिंसा न्यूनिकरणका लागि शून्य सहनशिलताको नीति अपनाएर अघि बढेको उनको भनाइ छ ।

सांसद उदया शर्मा पौडेलले प्रतिदिन ७ जना महिला बलात्कारको शिकार हुने तथ्याङ्क रहेकोमा गृहमन्त्रीले आत्तिनुपर्ने अवस्था छैन भनेर भन्न नहुने बताइन् । सांसद रामलखन चमारले उत्पीडन वर्गले प्रहरी प्रशासनबाट अपेक्षाकृत न्याय पाउन नसकेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् । सांसद इन्दु कडरियाले महिला हिंसाका घटना बढ्न थालेको भन्दै चिन्ता व्यक्त गरिन । पीडित महिला आफै उजुरी दिन जाँदा प्रहरीले उजुरी नलिने गरेका घटनाहरु पनि बाहिर आएकाले छानबिन गरी कडा कारबाही गर्न उनको माग छ ।

गृहमन्त्री थापाले महिला हिंसाका घटना न्यूनिकरणका लागि सरकार गम्भीर रहेको दाबी गरेका छन् । पछिल्लो समय देशका विभिन्न ठाउँमा महिलामाथि हुने हिंसाका घटनाहरु बढी रहेका छन् । विगत वर्षहरुभन्दा यो वर्ष यस्ता घटनाहरु बढ्ने सक्नेतर्फ संकेत गर्दै थापाले कोरोनाको समयमा महिला हिंसाका घटनाले बढोत्तरी पाएको बताए ।

Logo