लकडाउन र निषेधाज्ञाको अवधिमा पनि उद्योग दर्ता बढ्यो

लकडाउन र निषेधाज्ञाको अवधिमा पनि उद्योग दर्ता बढ्यो


काठमाडौं ।

कोरोना भाइरस संक्रमण विश्व व्यापीरुपमा फैलिएकाले यसको रोकथाम तथा नियन्त्रणका लागि करिब ६ महिनासम्म मुलुकभर लकडाउन भएको थियो । यसरी भाइरस नियन्त्रणका लागि मुलुकभर लकडाउन र निषेधाज्ञाको अवधिमा पनि उद्योग दर्ता गर्नेहरुको संख्या बढेको छ । कोरोनाको महामारीले सञ्चालनमा रहेका उद्योग, व्यापार व्यवसाय बन्द हुने अवस्थामा पुगेका अवस्थामा पनि उद्योग दर्ता गर्नेहरुको उत्साह देखिएको छ । चालु आर्थिक वर्ष २०७७/७८ को २ महिनामा मात्रै उद्योगमा ४५ अर्ब ७४ करोड रुपैयाँ भन्दा बढीको लगानी भएको उद्योग विभागले जानकारी दिएको छ ।

कोरोना महामारी नियन्त्रण गर्नका लागि गरिएको लकडाउन र निषेधाज्ञाको बिचमा ४५ अर्ब रुपैयाँ बराबरका उद्योग स्थापना भएका उद्योग विभागका प्रवक्ता विनोद कुमार खड्काले बताए । उनका अनुसार चालु आर्थिक वर्ष लागे यता ४१ वटा उद्योग दर्ता भएको र उद्योग दर्ता हुनेमा सबै भन्दा ठूला उद्योग भने इनर्जी(ऊर्जा) क्षेत्रका धेरै रहेका छन् । यसरी दर्ता हुनेमा पाँच वटा उद्योग ऊर्जासँग सम्बन्धित, एक उद्योग कृषि सामग्री उत्पादन गर्ने उद्योग गरी ६ वटा उद्योग एक अर्ब रुपैयाँ भन्दा बढी लगानी रहेका छन् ।

एक अर्ब चुक्ता पूँजी भएका उद्योगमा सुस्मित इनर्जी पावर लिमिटेड, हाइड्रो भिलेज प्रालि, हब पावर प्रालि, केबिएनआर इस्व पावर लिमिटेड, सुपर बाग्मति हाइड्रो पावर र कृषिसँग सम्बन्धित उद्योगमा जनकपुर एग्रो फर्म प्रालि दर्ता भएको उद्योग मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आठ वटा उद्योगहरु १० करोड भन्दा बढी लगानी गरेर स्थापना भएका छन् । यसरी दर्ता भएका उद्योगहरुमा धेरै जसो उत्पादनमूलक कम्पनीको रुपमा स्थापना भएका छन् । अहिले दर्ता भएका उद्योगमा बिजुलीको तार बनाउने नयाँ उद्योगको रुपमा एभरेस्ट वायर इन्डष्ट्रिज प्रालि दर्ता भएको छ भने तेल उत्पादन गर्ने उद्योगको रुपमा सौरभ आलय मिल दर्ता भएको छ । इलेक्ट्रोनिक्स सामान उत्पादन गर्ने उद्देश्य राखेर एनजि इलेक्ट्री प्रालि, भवन निर्माणमा धेरै प्रयोग हुन थालेको टायल बनाउने कम्पनी पनि दर्ता भएको छ ।

यसरी दर्ता हुने कम्पनीमा गार्मेन्ट उत्पादन गर्ने फेसन कम्पनी रहेको छ । उसले नयाँ डिजाइनका लत्ताकपडा उत्पादन गर्ने उद्देश्य राखेर माई फेसन प्रालि दर्ता गरेको छ । तयारी खानेकुरा उत्पादन गर्ने उद्देश्य राखेर सौभाग्य डायट फुड प्रालि आउने भएको छ । यसैगरी नक्कली गरगहना उत्पादन गर्ने उद्देश्यका साथ नेपाली बजारमा विश्वकर्मा गोल्ड एण्ड सिल्भर आर्टिसियन नेशनल ट्रेड सर्भिस, बज्रेश्वरी इन्डष्ट्रिज प्रालि लगायतका कम्पनी दर्ता भएको विभागले जनाएको छ ।

यसरी कोरोना महामारीको अवस्था पनि उद्योग दर्ता उत्साहजनक देखिनु राम्रो भएको र यसले वैदेशिक लगानीमा उल्लेख्य प्रगति हासिल गर्ने प्रवक्ता खड्काको भनाइ छ ।

Logo