विदेशी पर्यटकका लागि ट्रेकिङ र पर्वतारोहण खुला

विदेशी पर्यटकका लागि ट्रेकिङ र पर्वतारोहण खुला


काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण पर्यटन क्षेत्र नराम्रोसँग चपेटामा परेको छ । महामारी रोकथाम तथा नियन्त्रणको लागि पाँच महिनादेखि विश्वभर लकडाउन गरिएको थियो । कोभिड–१९ बाट सबैभन्दा बढी प्रभावित उद्योगहरुमध्ये यात्रा र पर्यटन क्षेत्र अगाडि रहेको छ । विश्वव्यापी महामारीको प्रकोपका कारणले नेपालमा मात्रै नभएर अन्य धेरै देशहरूलाई पर्यटन क्षेत्रमा असर परेको छ । यसको रोकथामको लागि अधिकांश देशहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सीमाना बन्द गर्न बाहेक अरू कुनै विकल्प रहेको थिएन् ।

यसरी विश्वभर यात्रा प्रतिबन्ध गरिएकाले धेरै एयरलाइन्स र टूर अपरेटरहरूले लामो समयदेखि गरेका बुकिङ रद्द भएकोले विश्व पर्यटन क्षेत्रले नै इतिहासमा नै पहिलो पटक ठूलो आर्थिक गिरावटको सामना गर्नु परेको छ । नेपाल पनि यसबाट अछुतो रहेको छैन् । कोरोना कारण धेरै जसो व्यवसाय पलायन हुने अवस्थामा पुगेका छन् । नेपालमा सबैभन्दा बढी प्रभावित भएको क्षेत्र पर्यटन भएको नेपाल राष्ट्र बैंकको अध्ययनले देखाएको छ । पर्यटन क्षेत्रभित्र होटल, रेष्टुरेण्ट, ट्राभल तथा ट्रेकिङ र हवाई क्षेत्र पर्दछन ।

चैतदेखि असोजसम्म यी कुनै पनि क्षेत्र सञ्चालनमा आएका थिएनन् । तर सरकारले असोज १ गतेदेखि प्रायः क्षेत्रहरु सञ्चालन गर्ने अनुमति दिएको छ । सरकारले ६ महिनासम्म बन्द रहेका होटल, रेष्टुरेण्ट र हवाइ उडान अनुमति दिएसँगै पछिल्लो पटक ट्रेकिङ र पर्वतारोहणको लागि नेपाल आउने पर्यटकलाई अनुमति दिएको छ । कोरोना संक्रमण सुरु भएदेखि नेपाल भ्रमणका लागि विदेशी पर्यटकलाई प्रतिबन्ध लगाइएको थियो ।

अहिले पनि कोरोना भाइरस संक्रमणको जोखिम झनै बढी रहेको छ । तर, सरकारले प्रायः सबै क्षेत्रहरु खुल्ला गदै आएको छ । ६ महिनासम्म सुनसान रहेको पर्यटन क्षेत्र सञ्चालन गर्न अनुमति दिएसँगै केही चलायमान हुने अपेक्षा गरिएको छ । सरकारले पर्यटन क्षेत्रका होटल, रेष्टुरेण्ट, आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन गर्ने अनुमति दिए पनि पदयात्रा र पर्वतारोहणमा प्रतिबन्ध नै रहेको थियो ।

बुधबारदेखि सरकारले विभिन्न सर्तसहित नेपालमा पदयात्रा तथा पर्वतारोहण गर्न आउने विदेशी पर्यटकको लागि खुल्ला गरेको सस्कृति, पर्यटन तथा नागरिक उड्डायन मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराइले जानकारी दिए । उनका अनुसार ट्रेकिङ र ट्राभल एजेन्सीमार्फत बुकिंङ गरी नेपाल भ्रमणमा आउन चाहने विदेशी पर्यटकलाई पर्यटन बोर्ड र पर्यटन विभागको सिफारिसमा अध्यागमन विभागले भिसा दिने गरी खुल्ला गरिएको छ । उनले भने–‘पदयात्रा र पर्वतारोहणका लागि नेपालमा पर्यटक आउन सक्ने भएकाले नेपालका ट्राभल र ट्रेकिङ एजेन्सीले भ्रमणको प्याकेज बिक्री गर्न सक्नेछन ।’

केही दिन अगाडि गृह मन्त्रालय, अध्यागमन विभागसँग भएको छलफलमा पर्वतारोहणका लागि पर्यटन विभाग र पदयात्राका लागि पर्यटन बोर्डको सिफारिसमा पर्यटकलाई भिसा उपलब्ध गराउने निर्णय भएको थियोे । उक्त निर्णण अनुसार बोर्ड र पर्यटन विभागको सिफारिसमा विदेशी पर्यटकलाई भिसा दिइने भएको हो ।

त्यस्तै नेपालको पर्यटन क्षेत्रलाई चलायमान बनाउदै लाने उद्देश्यले नेपालमा पर्यटनको रुपमा सामूहिक भ्रमणमा आउने विदेशी पर्यटकका लागि पर्वतारोहण र पदयात्राका लागि भिसा दिने निर्णय भएको पर्यटन बोर्डका प्रवक्ता मणिराज लामिछानेले बताए । उनकाअनुसार पर्वतारोहण र पदयात्रा खुल्ला गरेपनि पर्यटन मन्त्रालयले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकका लागि मापदण्ड बनाएको छ । ती मापदण्ड पालना गरेर विदेशी पर्यटकहरु नेपाल आउन सक्नेछन् ।

पर्वतारोहण र पदयात्राका लागि मन्त्रालयले नौ वटा शर्त लागु हुने गरी मापदण्ड बनाएको छ । जुन मापदण्ड अनुसार पर्यटकले नेपाल अवतरण गरेपछि पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट, भ्रमण स्वीकृत पत्र, सात दिन होटल क्वारेन्टाइनका लागि बुकिङ गरेको पत्र, ५ हजार डलर बराबरको कोभिड बीमा गरिएको पत्र बुझाएपछि मात्रै भिसा पाउने गरी मापदण्ड बनाइएको छ । नेपाल आएर पीसीआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको अवस्थामा मात्र पर्यटकले भ्रमण गर्न अनुमति पाउने छन् भने पोजेटिभ आएमा नेगेटिभ नआएसम्म क्वारेन्टाइनमै बस्नुपर्ने छ ।

मन्त्रालयको मापदण्डप्रति व्यवसायीको असन्तुष्टि
सरकारले नेपालमा पर्वतारोहण र पदयात्राका लागि आउने विदेशी नागरिकका लागि बनाएको मापदण्डप्रति पर्यटन व्यवसायीहरुले असन्तुष्टि जनाएका छन् । सरकारले पीसीआर परीक्षण गरेर नेपालमा आउने पर्यटकलाई पुनः सात दिनसम्मको लागि अनिवार्य होटल क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरेको र यो मापदण्ड लागु गर्दा विदेशी पर्यटक आउन नसक्ने भन्दै व्यवसायीहरु असन्तुष्ट भएका हुन् । ६ महिनापछि व्यवसाय खुल्ला गर्ने निर्णयले खुशी भएका व्यवसायीहरु विदेशमा नै पीसीआर परीक्षण गरेर आएका पर्यटक नेपाल आएर पुनः सात दिन होटल क्वारेन्टाइनमा बस्नु पर्ने सर्तका कारण पर्यटक नेपाल आउन बन्चित हुने भएकाले व्यवसायीहरु निरास बनेका छन् ।

विदेशबाट आउने पर्यटकले सम्बन्धित राजदूतावसबाट भिसा अप्लाइ गरेर नेपाल प्रवेश गर्दा आवागमन प्रकृया नै झन्झटिलो हुने नेपाल एशोसिएसन अफ ट्राभलर एण्ड टुर्सका अध्यक्ष अच्युत गुरागाईंले बताए । उनकाअनुसार सरकारले पर्यटन व्यवसायीहरुको सुझावलाई गम्भीर रुपमा नलिएकाले विदेशी पर्यटनको लागि नेपाल आउन झन्झटिलो हुने हुदाँ पर्यटक नआउने उनको भनाइ छ ।

त्यस्तैगरी ट्रेकिङ एजेन्सीज एशोसिएसन नेपालका अध्यक्ष खुम सुवेदीले सरकारले ६ महिनासम्म बन्द रहेका पर्यटन दुई क्षेत्रका लागि पर्यटक आगमनका लागि खुला गरेपनि अपेक्षाकृत रुपमा पर्यटकको लागि मापदण्ड नबनाएको बताएका छन् ।कोरोना महामारीकै बीच पनि विदेशी पर्यटकहरु विभिन्न ट्रेकिङ एजेन्सी मार्फत नेपाल भ्रमणमा आउन इच्छुक रहेका छन तर यसको लागि सरकारले जारी गरेको मापदण्ड नै झन्झटिलो भएको उनको भनाइ छ । पदयात्रा र पर्वतारोहणका लागि युरोप, अमेरिका, अस्ट्रेलिया लगायत विभिन्न मुलुकबाट नेपाल आउन आतुर रहेपनि सरकारले बनाएको मापदण्डबारे जानकारी दिँदा उनीहरु फेरि आफ्नो योजनाबाट पछाडि हट्ने गरेको उनको भनाइ छ ।

सरकारले सात दिन नभएर तीन दिन अनिवार्य होटल क्वारेन्टाइनमा बस्नु पर्ने मापदण्ड बनाउनुपर्नेमा उनको जोड छ । साथै सरकारले ट्राभल एजेन्सीबाट आएका पर्यटकलाई अनएराइभल भिसाको व्यवस्थाका साथै उनीहरुको लागि अस्पताल समेत तयार गर्नुपर्ने तर यो मापदण्डमा समावेश नभएको उनको दाबी छ ।

त्यस्तै सरकारले अब पदयात्रा, पर्वतारोहण, हवाइ उडान मात्रै नभएर कात्तिक १ गतेदेखि विदेशी पर्यटकलाई नेपाल भ्रमणमा आउन खुला गर्ने तयारी गरिरहेको छ । यसका लागि पर्यटक र पर्यटन व्यवसायीले अनिवार्य मन्त्रालयले जारी गरेको स्वास्थ्य सुरक्षा निर्देशिका पालना गर्नुपर्ने छ ।

Skip This
Logo