काठमाडौँ । "/>

सुर्खेत विमानस्थलको विस्तारका लागि कर्णाली प्रदेश र नागरिक उड्डयन प्राधिकरणबीच सम्झौता

सुर्खेत विमानस्थलको विस्तारका लागि कर्णाली प्रदेश र नागरिक उड्डयन प्राधिकरणबीच सम्झौता


काठमाडौँ सुर्खेत विमानस्थलको विस्तारका लागि कर्णाली प्रदेश र नेपाल नागरिक उड्डयन प्राधिकरण बीच सम्झौता भएको छ
लागत साझेदारी अवधारणा अन्तर्गत सुर्खेत विमानस्थल विस्तार र स्तरोन्नति गर्न आवश्यक जग्गा अधिग्रहण, रनवे विस्तार, टर्मिनल भवन निर्माण र अन्य आवश्यक विकास निर्माण कार्य गराउन कर्णाली प्रदेश सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच  समझदारी भएको हो ।
समझदारीपत्र अनुसार सुर्खेत विमानस्थलको धावनमार्गको लम्बाई कम्तिमा १५ सय मिटरसम्म विस्तार तथा स्तरोन्नति गरी सुविधासम्पन्न प्रदेशस्तरीय हब विमानस्थलको रुपमा विकास गर्न र यस कार्यमा साझेदारी गर्ने उल्लेख छ । यस्तै सुर्खेत विमानस्थलको विकास, विस्तार र स्तरोन्नति सम्बन्धी प्राविधिक प्रतिवेदन बमोजिम जग्गा अधिग्रहण र मुआब्जा वितरण समेतको लागि नेपाल सरकारबाट हुनुपर्ने आवश्यक निर्णयका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्रस्ताव पेश गर्ने जनाएको छ ।
विमानस्थल विस्तारको लागि आवश्यक थप जग्गा अधिग्रहणको लागि पहिचान गरी सिफारिश गर्ने, विमानस्थलको विकास, विस्तार र स्तरोन्नति लगायत अन्य आवश्यक निर्माण कार्य गर्ने,  विमानस्थल विस्तारका लागि आवश्यक पर्ने थप जग्गाको नियमानुसार मुआब्जा वितरण गर्दा हुने खर्चको पचास प्रतिशत रकम प्रथम पक्षसँग माग गर्ने र पचास प्रतिशत रकम नेपाल नागरिक उड्डयन प्राधिकरणले बेहोर्ने पनि सम्झौतामा उल्लेख छ ।
स्रोत व्यवस्थापनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग समन्वय गर्ने र  समझदारीपत्र बमोजिम प्रथम पक्षबाट सञ्चालन हुने कार्यहरुमा सहयोग एवं समन्वय गर्ने पनि सम्झौतामा जनाएको छ ।
यस्तै प्रथम पक्षले पूरा गर्नुपर्ने जिम्मेवारी अन्तर्गत जग्गा अधिग्रहण र यस सम्बन्धी अन्य कार्यमा कुनै समस्या देखिएमा समाधानको लागि आवश्यक पहल, सहजीकरण एवं समन्वय गर्ने, जग्गा अधिग्रहणमा हुने खर्चको पचास प्रतिशत रकम दोस्रो पक्षलाई अनुदानको रुपमा उपलब्ध गराउने, दोस्रो पक्षबाट सञ्चालन हुने कार्यहरुमा सहयोग, समन्वय र अनुगमन गर्ने उल्लेख छ ।
यस्तै स्रोतको उपलब्धताको आधारमा दुवै पक्षले लागत साझेदारीमा आपसी सहमतिबाट थप रकम योगदान गर्न सक्नेछन् । यस समझदारीको कार्यान्वयनमा कुनै विवाद उत्पन्न भएमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट समन्वय गरी विवादको समाधान गरिने छ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, कर्णाली प्रदेश सरकारका मुख्य मन्त्री  महेन्द्र बहादुर शाही, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव श्री केदार बहादुर अधिकारीको उपस्थिति थियो ।

Logo