कोरोना असरः डिज्नेले दुई राज्यबाट २८ हजार कामदार हटाउने

कोरोना असरः डिज्नेले दुई राज्यबाट २८ हजार कामदार हटाउने


क्यालिफोर्निया । मनोरञ्जनको क्षेत्रमा विश्वप्रसिद्ध संस्था डिज्नेले संयुक्तराज्य अमेरिकाका पार्कमा कार्यरत आफ्ना कर्मचारीमध्ये २८ हजार अर्थात झण्डै एक चौथाईलाई हटाउने मंगलबार घोषणा गरेको छ ।

कोरोना भाइरसको महामारी लामो समय कायम रहेको भन्दै डिज्नेले बाध्य भएर कर्मचारी कटौती गर्नु परेको जनाएको छ ।
शारीरिक दूरीका नियमहरुका कारण डिज्नेका मनोरञ्जन स्थलहरु नराम्रोसँग प्रभावित रहेको जनाउँदै डिज्नेले जारी गरेको विज्ञप्तिमा कोरोना संक्रमणबाट तत्काल उन्मुक्ति प्राप्त हुने अवस्था पनि नभएकाले बाध्य भएर कर्मचारी हटाउनु परेको उल्लेख छ । डिज्ने पार्कका अध्यक्ष जस डिअमारोले डिज्नेका लागि कर्मचारी कटौती नै एक मात्र सम्भाव्य विकल्प रहेको पनि बताए ।  क्यालिफोर्निया र फ्लोरिडामा मात्र कोरोना संक्रमण हुनुअघि डिज्नेका पार्कहरुमा झण्डै १ लाख १० हजार कर्मचारी कार्यरत थिए । अब यी पार्कमा करिब ८२ हजार मात्र व्यक्तिले मात्र रोजगारी पाउनेछन् ।

गत जुलाईको मध्यमा वाल्ट डिज्ने वल्डले फ्लोरिडाका पार्कहरु आंशिक रुपमा खोलेको थियो । तर कोरोना भाइरसको त्रासका कारण सीमित संख्यामा मात्र मानिसहरु पार्कमा आएका थिए । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोरोना भाइरसको महामारीबाट अमेरिकामा अहिले पनि सर्वाधिक असर परेको छ । यहाँ २ लाख ५ हजार ७ सय ७४ जनाको मृत्यु भइसकेको छ भने ७१ लाख ८० हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।–रासस/एएनआई

Logo