ज्योति ग्रुपमा सम्पत्ति विवादको अन्तर कथा : कम्पनी रजिस्टारले रुप ज्योतिलाई सोध्यो स्पष्टीकरण

ज्योति ग्रुपमा सम्पत्ति विवादको अन्तर कथा : कम्पनी रजिस्टारले रुप ज्योतिलाई सोध्यो स्पष्टीकरण


काठमाडौं । नेपालका ठूला व्यावसायिक घरानामध्ये एक हो, ज्योति समूह ।

व्यावसायिक जगतमा राज जमाइरहेको यो समूह यतिबेला भने पारिवारिक झमेलामा रुमलिरहेको छ । नेपालको व्यावसायिक क्षेत्रमा वर्षौदेखि आफ्नो पहिचान बनाउन सफल ज्योति समूहमा कम्पनी र सम्पत्ती बाँडफाँडका क्रममा दाजुभाईबीच किचलो उत्पन्न भएको हो ।

अहिले सम्पत्ति विवादका कारण यो समूहका दाजुभाई (पद्य र रुप) ज्योतिबीच बोलचाल नै बन्द भएको छ भने ‘विज्ञप्ती वार’ पनि उत्तिकै चलेको छ ।

अध्यक्षको कुर्सी तनातान 

डा. रुप ज्योतिले दाई पद्य ज्योतिलाई अध्यक्षबाट हटाएर आफूलाई ज्योति समूहको अध्यक्ष घोषणा गरेपछि विवाद चुलिएको हो ।

पछिल्लो पटक यसै विषयबाट विवाद झनै चर्किएको छ । डा. ज्योतिले आफूलाई अध्यक्ष घोषणा गरेपछि ज्योति समूह अन्तर्गतका सम्पूर्ण व्यवसायहरू प्रभावित भएका छन् । स्रोतले दिएको जानकारी अनुसार कम्पनीमा कार्यरत सम्पूर्ण कर्मचारी ‘कसलाई अध्यक्ष मान्ने कसलाई नमान्ने’ भन्ने अन्योलमा छन् । ‘अध्यक्षकै कारण सबै स्टाफहरू कन्फ्युजनमा छन् ।’ स्रोतले भन्यो । साथै कारोबारका सन्दर्भमा बैंक ग्यारेन्टी लगायतका काममा समेत निकै असर परेको छ ।

रुप ज्योतिले आफूलाई अध्यक्ष घोषणा गरे पनि कम्पनी रजिस्टारको कार्यालयले भने तत्काललाई पद्य ज्योतिलाई नै अध्यक्ष मानेको छ ।

विगत २९ वर्षदेखि पद्म ज्योति अध्यक्ष रहेका हिमाल आइरन एण्ड स्टील प्रालि, म्यानेजमेन्ट सर्विसेज प्रालि, स्याकार कम्पनी, भाजुरत्न इन्जिनियरिङ एण्ड सेल्स लि, हिमाल अक्सिजन प्रालि लगायतका विभिन्न १८ वटा कम्पनीको ज्योति समूहको विशेष साधारणसभामार्फत अध्यक्षमा आफू निर्वाचित भएको भन्दै बधाई तथा धन्यवाद सम्बन्धी सूचना प्रकाशित गरेका थिए ।

त्यसपछि अध्यक्ष पद्म ज्योतिले ज्योति समूह अन्तर्गतका कम्पनीहरूको मिति २०७७ वैशाख १० गते तथा सो भन्दा अगाडि सम्पन्न भएका विशेष साधारणसभाबाट भाई रुप ज्योतिले गैरकानूनी रुपमा आफूलाई अध्यक्ष घोषणा गरेकाले त्यस घोषणालाई ‘अमान्य घोषित गरी पाउँ’ भन्ने उजुरी कम्पनी रजिस्टारको कार्यालयमा दिए ।

अध्यक्ष पद्म ज्योतिले ज्योति समूह अन्तर्गतका छुट्टाछुट्टै कम्पनीको नामबाट कम्पनी रजिस्टारको कार्यालयमा उजुरी दिएका हुन् । पद्म ज्योतिद्वारा पेश गरिएको सो उजुरीमा कम्पनी ऐन २०६३ को दफा ९८.१ अनुसार कम्पनीको वैठक तथा साधारणसभा बोलाउने अधिकार अध्यक्षको भए पनि आफूलाई कुनै जानकारी नै नदिईकन वैठक बस्न तथा साधारणसभा हुन नसक्ने तथा अनाधिकृत तथा झुठा विवरण अपलोड गरेको भन्दै त्यसलाई बदर गरी पाउँ भनेका छन् । (सबै डकुमेन्ट केन्द्रबिन्दुसँग सुरक्षित छ)

पद्म ज्योति समूहले पेश गरेको सो निवेदन उपर कम्पनी रजिस्टारको कार्यालयले छलफल गरी सो विषयमा विस्तृत विवरण खुलाई पत्र प्राप्त गरेको मितिले ७ दिनभित्र स्पष्ट जवाफ पेश गर्न पनि निर्देशन दिएको छ। साथै कम्पनी ऐन २०६३ अनुसार पद्म ज्योतिकै अध्यक्षताको  कार्यसमितिलाई यथावत राख्न निर्देशन दिएको छ ।

कम्पनी रजिस्टारले कम्पनी ऐन २०६३ अनुसार पद्म ज्योतिकै अध्यक्षताको कार्यसमितिलाई यथावत राख्न निर्देशन दिएको छ ।

ज्योति समूहले मोटरसाइकल, कार, अक्सिजन, ग्यास, डण्डी, औषधि, उद्योगदेखि अस्पताल, बैंकदेखि इन्स्योरेन्स कम्पनी, हवाई टिकट बेच्ने ट्राभल एजेन्सी, आयात–निर्यात सहज गर्ने लजिस्टिक कम्पनी लगायतमा लगानी गरेका छन् । ज्योति समूहका यी अधिकांश कम्पनी तथा लगानी सफल भएका छन् । जसका कारण ज्योति समूहलाई एक सफल व्यावसायिक घरानाका रुपमा चिनिन्छ । यस समूहका विभिन्न कम्पनीहरूसँग काठमाडौंको मुटु जमलदेखि मुलुकभरका विभिन्न सहरहरूमा प्रशस्त मात्रामा जग्गा जमिन रहेको छ ।

ज्योति समूहभित्रका दुई ठूला कम्पनी स्याकार ट्रेडिङ र नेपाल जनरल मार्केटिङबाहेक अन्य सबै कम्पनीमा सेयर साझेदार र लगानीको ढाँचा लगभग एउटै जस्तो छ । हिरो र होण्डा एक आपसमा छुट्टिएको वर्षौ भयो । होण्डा मोटरसाइकलको अधिकृत बिक्रेता स्याकार ट्रेडिङमा पद्म ज्योतिका छोरा सौरभ ज्योति र सुहृद ज्योति शेयरधनीका रुपमा रहेका छन् । त्यस्तै, हिरोको अधिकृत बिक्रेता नेपाल जेनरल मार्केटिङमा रूप ज्योतिका शेयरधनी छोरा अभिक ज्योति तथा छोरी सुरुचि ज्योतिले सञ्चालन गरिरहेका छन् ।

त्यसबाहेकका ज्योति समूहका कम्पनीमा दाई पद्य ज्योति, भाई रुप ज्योति तथा बहिनी कमला कंसाकारका नाममा तीनै जनाको बराबर तीन हिस्सा रहेको छ । यी तीन जनामध्ये कुनै दुई जनाको शेयर एकै ठाउँमा हुँदा दुई तिहाई बहुमतमा पर्नुका साथै बाँकी एक तिहाई अल्पमतमा पर्छ । अहिले ज्योति समूहमा भएको विवाद पनि त्यहि नै हो । जो बहुमतमा छ उहि अध्यक्ष बन्ने भन्दै रुप ज्योति आफूलाई अध्यक्ष घोषणा गरेका थिए । उनले बहिनी कमला कंसारकारको शेयर पनि आफूतर्फ पारेका कारण बहुमत बनाएको दाबी छ ।

स्रोतका अनुसार बहिनी कमलासँग रुप ज्योतिले आफूलाई दाई पद्म ज्योतिले अन्याय गरेको भन्दै प्रत्येक दिन रोइकराई गर्ने तथा कुनै बेला हप्कीदप्की समेत गर्ने भएकाले कोमल स्वभावकी बहिनी कमला पनि खासै बोल्न सकेकी छैनन् । जसका कारण रुप ज्योति ‘बहिनी कमलाको शेयर हिस्सा मेरो साथमा भएकोले बहुमत छ’ भन्छन् ।

कसरी भयो विवादको सुरुवात ?

ज्योति परिवारमा कम्पनी शेयर र सम्पत्ती बाँडफाँडको तयारी करिब १५ वर्ष अघि नै भएको थियो । रुप ज्योतिले आफै बाँडफाँडको भाग लगाएर छानिसकेपछि नछुट्टिने भन्दै पछि हटे । स्रोतका अनुसार मणिहर्ष (बुवा) ज्योतिकै पालामा ४० वर्ष पहिले अंशवण्डा भइसकेको थियो । तर, अधिकांश व्यवसाय भने आ-आफ्नो शेयर राखी सगोलमै संचालित थिए र अझै पनि छन् ।

ज्योति समूह अन्तर्गतको कम्पनी ल्याण्डमार्क प्रालिले बैना गरेको घर नदिएको भन्दै व्यावसायी विजेन्द्र मल्लले ठगीको आरोपमा उजुरी गरेर डा. रुप ज्योति पक्राउ परेपछि विवादको थालनी भएको थियो । भाई रुप ज्योतिले स्याकार कम्पनी, ल्याण्डमार्क कम्पनी, हिमाल फर्मा आदि को नाममा भएको ५ सय रोपनी जग्गा एक्लौटी रुपमा बेचेर दुरुपयोग गरे ।

उनले विभिन्न ठाउँका कयौँ रोपनी जग्गा एकलौटी ढंगले व्यक्ति (आफ्नै ) नाममा समेत बेचेर सबै कम्पनीहरुलाई टाट पल्टाउन थालेपछि त्यसबेला नै व्यवसायहरू छुट्याउने प्रयास भएको थियो । एउटै व्यवसाय कति जनाले हेर्ने भन्ने द्विविधा भएका कारण व्यवसाय छुट्याउने प्रयास भएको थियो । त्यसयता धेरै सम्पत्तिको हिनामिना समेत भएको स्रोतको दाबी छ।

ज्योतिले विना जानकारी कम्पनीको जग्गा घुमाइफिराई आफ्नो नाममा नामसारी गरी व्यवसायलाई चौपट बनाउन थालेपछि ज्योति परिवारमा विवाद सुरु भएको स्रोतको दाबी छ ।

समाजका गन्यमान्य, भद्र भलादमी डाकेर समेत व्यवसाय छुट्याउने प्रयास गरिएको थियो । तर, सबै सम्पत्तिको मुल्यांकन भइसकेपछि पनि उनले तत्काल नछुट्टिने भन्दै अड्को थाप्ने गरेको स्रोत बताउँछ । स्रोतका अनुसार व्यवसाय छुट्याउन गरेका पटक पटकका प्रयासहरू असफल भएका छन् ।

डा. ज्योतिलाई कसै गरे पनि चित्त बुझाउन निकै गाह्रो थियो । चाहेका व्यवसाय लिएर छुट्टिन आग्रह गर्दा पनि मान्दैनन् रुप ज्योति । ‘कालो भने सेतो र सेतो भने कालो भन्छन्,कसरी बुझ्छ उनको चित्त ?’ स्रोत भन्छ ।

अहिले यी दुबै दाजुभाईको परिवार विश्व ज्योति हलको पछाडि पट्टीको भवनमा बस्दै आएको छ । तर उनीहरूबीच पारिवारिक मेलमिलाप भने छैन । उनीहरू दुवै परिवारको व्यवसायका कार्यालय समेत जमलस्थित ज्योति भवनको कम्पाण्डबाटै संचालन हुँदै आएका छन् ।

ज्योति समूहमा यो विवाद निम्तिनुको विविध कारणमध्ये एउटा प्रमुख कारण मिला सायमी भएको बताइन्छ ।

यो पनि 

धर्मपुत्रीको आगमनले कसरी भयो पारिवारिक विखण्डन ?

ज्योति समुह विवाद : जग्गामा ठगीदेखि बिजेन्द्र मल्ललाई अपहरणको धम्कीसम्म रुप ज्योतिको संलग्नता

ज्योति समूहमा सम्पत्ति विवादको अन्तर कथा: के हो ग्राण्डी सिटी अस्पतालको विवाद ?

Logo