‘एक्टरभन्दा पनि मेकरको रुपमा फर्किन सक्छु’ : नन्दिता केसी (अभिनेत्री)

‘एक्टरभन्दा पनि मेकरको रुपमा फर्किन सक्छु’ : नन्दिता केसी (अभिनेत्री)


कुनै समयमा थुप्रै दर्शकहरुको मन मस्तिस्कमा आफ्नो अभिनय र सुन्दरताले बेग्लै छाप छोड्न सफल अभिनेत्री हुन् नन्दिता केसी । विगत ४ वर्षदेखि अमेरिकामा बसोबास गर्दै आईरहेकी उनी अमेरिकामा रहे पनि नेपालको विषयहरुमा निकै अपडेट भईरहेकी हुन्छिन् । यो कोरोना महामारीमा उनले केही समय अघि मात्र पनि एक क्याम्पियनमार्फत प्राविधिक संघ, नृत्य संघ र थुप्रै अनाथ वालवालिकालाई राहत प्रदान गरेकी थिइन् । प्रस्तुत छ अभिनेत्री तथा समाजसेवी नन्दितासँग गरिएको अनलाईन अन्तर्वार्ता –

अहिले विश्वभर नै कोरोना आतंक छ । यस्तो समयमा त्यता पनि अवस्था जटिल नै होला दैनिकी कसरी बित्दै छ ?

– पहिला त यहाँ पनि गाह्राे नै थियो दैनिक उपभोग्य वस्तुको लागि ग्रोसरीहरु बाहेक अरु पसलहरु त्यति खुलेका थिएनन् । सामान किन्न मात्र बाहिर निस्कने अरु बेला घरमै बसेर काम गरिन्थ्यो । तर अहिले विस्तारै अवस्था सामान्य बन्दै गईसक्यो त्यसैले मेरो दैनिकी पनि पुरानै अवस्थामा फर्किसकेको छ ।

परदेश लागेपछि प्राय सबैजसो कलाकारहरु नेपालको अवस्थाबारे अपडेट हुँदैनन् । तर तपाईँ सामाजिक संजालमा मात्र नभई सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । भर्खरै मात्र पनि प्राविधिक संघ लगायत अन्य ठाउँहरुमा पनि राहत प्रदान गर्नुभयो । कसरी म्यानेज गर्नुहुन्छ सबै काम ?

– के मा अपडेट हुने के मा नहुने त्यो आफूमा भर पर्ने कुरा हो । यदी कोही अपडेट हुन चाहँदैन भने पनि त्यो उसको व्यक्तिगत कुरा हो । मेरो सन्दर्भमा चाहिँ विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विकसित सुसम्पन्न देशमा बस्दा त मलाई गाह्राे भयो भने नेपालमा रहने ज्याला मजदूरी गरी दैनिकी गुजारा गर्नेहरुलाई झन् कति गाह्राे भईरहेको होला भन्ने लागेर सुरुमा मैले एकलरुपमा सहयोग गर्ने प्लान बनाएकी थिएँ । तर मलाई मेरी बहिनी अभिनेत्री युना उप्रेतीले तिम्रो अभियानमा हामी पनि साथ दिन्छौँ, गरेपछि वृहत रुपमा नै गरौँ भनेर सुझाव दिनुभयो र सक्दो रकम पनि पठाईहाल्नु भयो । त्यसपछि मैले फेसबुकमा स्टाटस राखेँ । लगभग ३०–३५ जना बाट राम्रै रकम पनि जम्मा भयो । त्यहि रकमबाट हामीले प्राविधिक संघका ३० जना, किर्तिपुरमा रहेका २७ जना एचआईभि एड्स भएका बालबालिकाहरु त्यस्तै रिमा साईराम सेवाघरमा रहेका बाबाआमा र अनाथ बालबालिकाहरु लाई खाद्यान्न सहयोग गरेका छौँ । त्यसैगरि हालसालै मात्र हामीले फेरि २० जना डान्सरहरुलाई पनि राहत वितरण गरेका छौँ ।

तपाईँ त नेपालबाट टाढा हुनुहुन्छ । वितरणको काम नेपालमा कसले सम्हाल्नु भएको छ ?

नेपालबाट मेरो परिवार र प्राविधिक संघका सदस्यहरु वितरणको काममा खटिरहनु भएको छ । उहाँहरु अझै मिडिया समेत नपुगेको थुप्रै ठाउँहरुमा राहत लिएर जाँदै हुनुहुन्छ । अरुको जिम्मामा छोडेको भए वास्तविक पीडित समक्ष राहत नपुग्ने हो की भन्ने डर हुन्थ्यो तर आफ्नै परिवारको सदस्यहरु हुनुभएकोले म ढुक्क छु ।

अब अलिकति अगाडिको कुरा गरौँ । तपाईँ अमेरिका चाहिँ कसरी पुग्नुभयो ?

म २०१५ मा एउता कार्यक्रमको सिलसिलामा यहाँ आएकी थिएँ । त्यसबेला २ महिना जति बसेर फेरि फर्किएँ । पछि फेरि कार्यक्रमसँगै चलचित्रको कामले गर्दा २०१६ मा आएँ । त्यतिबेला बसाईँ लामै भयो । त्यसमाथि मलाई पहिल्यैदेखि चलचित्रमा स्थापित हुन्छु भनेर लागेको थिएन। समय र दर्शकको मायाले मलाई चलचित्रसँग सम्बन्ध गाँसिदिएको थियो । त्यसैले मैले यतै बसेर अझ राम्रो करिअर बनाउने सोचेँ । त्यसबेलादेखि अहिलेसम्म यतै छु ।

अमेरिकामा भएका चलचित्रर्मीहरुसँग भेटवार्ता हुँदा नेपाली चलचित्र क्षेत्रको कुराकानी कत्तिको हुन्छ ?

एकै क्षेत्रमा काम गर्ने सहकर्मीहरु भेटघाट हुँदा उक्त क्षेत्रको कुरा नहुने भन्ने नै हुँदैन । फिल्म ईन्डस्ट्रि भनेको त हाम्रो घर हो । त्यसैले एकै परिवारका सदस्यहरुको भेटघाट हुँदा आफ्नो घरको कुरा त भईहाल्छ । भेट हुँदा मात्र होइन फोनमा पनि हामी चलचित्रका कुरा गरिरहेका हुन्छौँ । ईन्डस्ट्रिमा के भईरहेको छ ? कसो भईरहेको छ भनेर अपडेट भईरहेका हुन्छौँ ।

नेपाली चलचित्रलाई ईन्डस्ट्रिभन्दा बाहिर बसेर नियाल्दा आफ्नो समय र अहिलेको समयमा के परिवर्तन भएको पाउनु हुन्छ ?

ईन्टर्नली त के परिवर्तन भईरहेको छ भनेर हामीलाई थाहा हुँदैन । तर बाहिरबाट हेर्दा चाहिँ चलचित्रको मेकिङ, क्वालिटी एकदमै राम्रो हुँदै गईरहेको छ । विदेशमा पनि दर्शकहरु तान्ने, प्रोमोशन गर्ने भएकोले नेपालबाहिर पनि नेपाली चलचित्रहरुका एक किसिमका दर्शकहरु बनेका छन् । तर बेलाबेला यस क्षेत्रका विभिन्न स्क्याण्डलहरु आईरहेका हुन्छन् । त्यसमा कति सत्य होलान् कति सत्य नहोलान् हामीलाई थाहा छैन तर पनि हामी देशबाहिरका कलाकारलाई त्यस्ता कुराहरुले दुःखी पनि बनाईरहेको हुन्छ । ओभरअल ग्रोअपको रुपमा हेर्दा चाहिँ अहिले धेरै परिवर्तन आईसकेको छ ।

कलाकारहरु अमेरिकामा लामो समयसम्म बसेर पनि नेपाल फर्किएर फेरि चलचित्र क्षेत्रमा कलाकार, निर्माता, निर्देशकको रुपमा काम गरिरहेका धेरै उदाहरणहरु छन् । तपाईँको सम्भावना कतिको छ ?

म यता पनि चटक्कै माया मारेर भने बसेकी छैन । ईभेन्टहरु, भिडियोहरु भए पनि निरन्तर रुपमा अपडेट भइरहेकी नै हुन्छु । लाईफमा यहि नै गर्छु भनेर त म कन्फर्म गर्न सक्दिन । तर एक्टर भन्दा पनि मेकरको रुपमा चाहिँ फर्किन सक्छु होला । किनकी यहाँ जे गरेपनि जति बसे पनि फर्किने त नेपालमै हो ।

अमेरिकामा रहेका प्राय सबै अभिनेत्रीहरुको विवाह भईसकेको छ । तपाईँको चाहिँ कहिले नि ?

विवाह भन्ने कुरा जुर्नु पर्छ । कोसँग हुन्छ, कहिले हुन्छ हाम्रो बशमा हुँदैन । जीवनमा विवाह गर्नुपर्छ थाहा छ । तर पनि मैले त्यतातिर सोँच्ने फुर्सद नै पाएको छैन । पूर्णरुपमा करिअरमै फोकस छु ।

चलचित्रमा नदेखिनु भएको ४ वर्ष बढी भईसकेको छ । तर अझै पनि तपाईँलाई दर्शकहरुले उत्ति नै माया गरिरहेका छन् । दर्शकहरुको लागि परदेशबाट केही सन्देश छ ?

अझै पनि धेरै दर्शकहरुले मलाई खोजिरहनु भएको आभास त मलाई पनि हुन्छ । फेरि कम ब्याक भईदिए हुन्थ्यो भन्ने जस्ता कति कमेन्टहरु, म्यासेजहरु अहिले पनि आउँछन् । मलाई एकदमै भाग्यमानी फिल हुन्छ । किनकी संसारमा पैसा कमाउन सजिलो छ तर माया कमाउन र त्यस मायालाई जोगाउन निकै गाह्राे  छ । त्यो माया र साथ अझै पनि कायम राखिदिनु भएकोमा मेरा दर्शकहरुप्रति आभारी पनि छु । र सबैलाई यो कोरोनाले निम्त्याएको विषम् परिस्थितीमा आफू र आफूलाई चाहनेहरुको केयर गर्नुहोला भन्न चाहान्छु । अन्त्यमा मेरो पोष्टहरुमा अहिले कति धेरै नराम्रा कमेन्टहरु आउन थालेका छन् । त्यसैले म उहाँहरुलाई के भन्न चाहान्छु भने सक्नुहुन्छ आफू एक छाक भए पनि भोको पेट भर्ने कोसिस गर्नु, सक्नु हुन्न कोहि सहयोग गर्न चाहनेलाई कम्तिमा यो दयनिय अवस्थामा भए पनि आत्मबल घटाउने प्रयास नगर्नु । किनकी अहिले भनेको शारिरीक रुपमा हुन्छ या मानसिक रुपमा हुन्छ, एकले अर्काको सहयोग गर्ने समय हो ।

Logo