क्यान पदाधिकारीद्वारा गौतम बुद्ध रंगशालाको निरीक्षण

क्यान पदाधिकारीद्वारा गौतम बुद्ध रंगशालाको निरीक्षण


काठमाडौं ।

नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीले चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निरीक्षण गरेको छ । क्यानका पदाधिकारीले मंगलबार बिहान धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको रंगशालाको अवलोकन गरेका हुन् ।

कृषि तथा वन विश्वविद्यालयले भोगचलन गरिरहेको मध्ये २० बिघा जग्गामा रंगशाला निर्माण भईरहेको छ । भरतपुर नगरपालिकाले उपलब्ध गराएको जग्गामा बन्ने रंगशाला नेपालको मौलिकता झल्कने गरि कमलको फूलको आकारमा निर्माण गरिनेछ । रंगशाला ३० हजार दर्शक क्षमताको हुनेछ ।

बोर्ड बैठकको लागि चितवन पुगेका पदाधिकारीले रंगशालाको अवलोकन गरेका हुन् । क्यानको बोर्ड बैठक चितवनमा बसिरहेको छ । क्यान निर्वाचनको झण्डै एक वर्ष पुग्न लागेको अवस्थामा बोर्ड बैठक बसेको हो । बैठकका लागि मुख्य ४ वटा एजेण्डा तय गरिएको छ ।

बैठकले संघको आगामी साधारण सभाबारे निर्णय गर्नेछ । कोरोना महामारीका कारण संघको साधारण सभा प्रभावित बन्दै आएको छ । यस्तै, संघको आर्थिक वर्ष २०७१/७२ देखि २०७५/७६ सम्मको आर्थिक लेखापरीक्षण प्रतिवेदनका सम्बन्धमा छलफल गर्ने एजेण्डा समेत तय गरिएको छ ।

बैठकमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)सँग भएका पछिल्ला काम कारबाहीबारे जानकारी गराउने र विविध गरि ५ वटा एजेण्डा तय गरिएको छ ।

Logo