अज्ञात रोगले ४५ भेडा मरे, किसान चिन्तामा

अज्ञात रोगले ४५ भेडा मरे, किसान चिन्तामा


भेडी गोठमा गत दुई हप्तादेखि भेडा मर्न थालेसँगै किसान चिन्तामा परेका छन् । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–२ सादेवास्थित भेडी गोठमा भेडा मर्न थालेसँगै किसानहरु चिन्तित भएका हुन् ।  

संयुक्त रुपमा भेडा गोठ पाल्दै आएका सिदिङवा गाउँपालिकाका टोपबहादुर बुढाक्षेत्री, सादेवाका हिमकुमार राई र सीताराम खड्काको गोठमा रहेका भेडा धमाधम मर्न थालेको सिदिङवा गाउँपालिकाका प्रवक्ता कैलास राईले जानकारी दिए । 

दुई सातामा करीब ४५ वटा भेडा अज्ञात रोगले मरिसकेका राईले बताए । 

भेडाले दुई/तीन दिनसम्म घाँस नखाने र त्यसपछि झोक्राएर मर्ने गरेको भेडी गोडालोहरुको भनाइ रहेको छ । अज्ञात रोगले मरेका भेडामध्ये धेरै गर्भधारण गरेका र बच्चा जन्माउने समय पुगेका माउ भेडा रहेको प्रवत्ता राईले बताए । उनकाअनुसार अज्ञात रोगले भेडा मर्ने क्रम जारी रहेको छ भने गर्भधारण गरेका अधिकांश माउ भेडाको गर्भ खेर गएको (तुहिएको) हो ।

करिब चारसयको संख्यामा रहेको गोठमा अज्ञात रोग फैलिएर भेडा मर्न थालेपछि भेडापालक किसानले ठूलो नोक्सानी व्यहोरेका छन् । 
गोठपालक किसान टोपबहादुर बुढाक्षेत्रीले भेडामा सास फेर्न कठिन भएजस्तो देखिने, घाँस (खुराक) नखानेजस्ता लक्षण रहेको बताए । उक्त लक्षण देखिएको दुईदेखि चार दिनभित्र भेडा मर्ने र गर्भधारण गरेका माउ भेडाले बच्चा तुहाउने गरेको उनले बताए । 

त्यस्तै किसान हिमकुमार राईले अज्ञात रोग सुरु भएसँगै भेडा मर्ने क्रम नरोकिए गोठनै सखाप हुनसक्ने भन्दै चिन्ता व्यक्त गरे । जाडो मौसम सुरु भएपछि चिसो छल्नलाई हिमाली चरन क्षेत्रबाट भेडा गोठ अहिले बेसीमा झारिएको महिना दिनपछि यस्तो रोग देखिएको राइले बताए । अज्ञात रोग देखिएपछि गाउँमा उपलब्ध पशुविज्ञलाई जचाउँदा रोग पहिचान हुन नसकेको उनले बताए । 

सिदिङ्वा गाउँपालिका पशु सेवा शाखाले समस्या समाधानको पहल भइरहेको जनाएको छ । शाखा प्रमुख एञ्जलबाबु कार्कीका अनुसार गाउँपालिकाको पशु शाखासँग उपलब्ध स्रोत साधनको उपयोगबाट समस्या समाधानको पहल भए पनि हालसम्म रोगको पहिचान भने हुन सकेको छैन । रोग पहिचान नभएपछि मरेको भेडाको नमुना (रगत) सङ्कलन गरेर ल्याव परीक्षणका लागि पठाउने तयारी भइरहेको उनले जानकारी दिए । 

प्रदेश सरकारमार्फत नमूना सङ्कलन गर्ने किट माग गरिएको र बुधबार सम्ममा नमूना सङ्कलन गरी परीक्षण गर्न प्रदेश प्रयोगशाला विराटनगर पठाइने कार्कीले जानकारी दिए । यो रोगले भेडा मर्नेको तुलनामा गर्भ तुहिने समस्या बढी देखिएको उनको भनाइ छ । 

Logo