बजार अनुगमन : श्रेष्ठ राइस एण्ड चिउरा मिलका २०० बोरा चामल बिक्रीमा रोक

बजार अनुगमन : श्रेष्ठ राइस एण्ड चिउरा मिलका २०० बोरा चामल बिक्रीमा रोक


काठमाडौं ।

गोङ्गबु चोक नजिकै मिल सञ्चालन गर्ने श्रेष्ठ राइस एण्ड चिउरा मिलमा भएको २०० बोरा चामल बिक्रीमा रोक लगाइएको छ । श्रेष्ठ राइस एण्ड चिउरा गोङ्गबु प्रिन्ट गरिएका ३० के. जी. तौलमा भरिएका चामलको उत्पादन मिति, उपभोग्य मिति, मिल, खुद्रा वा अधिकतम मूल्य नराखिएको, खरिद बिक्री बिल नभएको र मिलको परिचयपाटी नराखिएकोले बिक्रीमा रोक लगाइएको हो । काठमाडौं महानगरको उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोलीले आजै दिउसो १ मिल सञ्चालकलाई कागजातसहित कृषि बिभागमा बोलाएको छ ।

मिलमा सञ्चालक थिएनन् तर उनका छोरा राजेन्द्र महर्जनले नुवाकोटबाट धान ल्याउने र मिलमा कुट्दै बेच्ने गरेको बताए । उसो भए २०० बोरा पनि माग भएरै कुटाएको हो त? प्रश्नको उत्तरमा उनले भने – धान लिएर आउने र कुटाएर बिक्रीका लाने पनि धेरै हुन्छन् । उनीहरुले कुटाएको पैसा दिने हो । उनको कुरा सकिन नपाउँदै अनुगमन टोलीका सदस्यले सोधे – अरुले ल्याएको धान, उसैको चामल अनि श्रेष्ठ राइस एण्ड चिउरा लेखेको बोरा चाहिँ किन नि? यो प्रश्नको उत्तरमा उनी अक्मकाए ।

यो समस्या श्रेष्ठ राइस मिलको मात्र होइन । यस क्षेत्रमा सञ्चालन हुने मिलको साझा समस्या भएको अनुगमनका क्रममा देखियो ।

बालाजु चोककै छेउमा रहेको ढकाल आलु तथा सब्जी भण्डारका सञ्चालक पण्डितप्रसाद ढकालले ११० रुपैयाँ प्रति के.जीमा प्याज बेचिरहेका थिए । प्याज किन महङ्गो नि? अनुगमन टोलीका प्रतिनिधिले प्रश्न गर्दा सञ्चालकले उत्तर दिए मैले नै १०० रुपैयाँ प्रति किलोमा किनेर ल्याएको हुँ । यति भन्दै उनले गोकर्णेश्वर नगरपालिका वडा ५ जोरपाटीमा रहेको नन्देश्वरी आलु प्याज तथा गल्ला भण्डारले २० बोरा प्याजको बिल देखाए । ११ सय किलो प्याजको प्रतिकिलो १०० रुपैयाँका दरले १ लाख १० हजार रुपैयाँ बिलमा उल्लेख थियो । अनुगमन टोलीले नन्देश्वरी भण्डारका सञ्चालकलाई पनि बिभागमा बोलाएको छ ।

आजको अनुगमनका क्रममा गोपीकृष्ण खाद्य उद्योगबाट बजार पठाउन तयार गरिएको ठूलो प्लाष्टिकको थैलीमा राखिएका करीब २५ प्याकेट पानीपुरी र हरिशरण ढकालले स्कुटरमा राखेर बेच्दै हिँडेका १५ प्याकेट खुल्ला चाउमिन बरामद गरेर नष्ट गरिएको छ ।

यसैगरी सानो भ¥याङमा सञ्चालित माँ भवानी टे«डर्सका सञ्चालक रञ्जन गुप्तालाई मूल्यसूची नराखेको, खरिद बिक्री बिल अद्यावधिक नगरेको, म्याद सकिएका सामान राख्ने ठाउँ नबनाएकोले आवश्यक कागजपत्रसहित कार्यालयमा उपस्थित हुन भनिएको छ ।

Logo