दुई दिने भारत बन्दको आह्वान, बन्दमा २० करोड मजदुरको एक्यबद्धता

दुई दिने भारत बन्दको आह्वान, बन्दमा २० करोड मजदुरको एक्यबद्धता


केन्द्रीय सरकारको नीतिको विरोधमा भारतमा आज र भोलि दुई दिन बन्दको आह्वान गरिएको छ । केन्द्रीय ट्रेड युनियनको एउटा संयुक्त फोरमले बन्दको आव्हान गरेको हो । मजदुर, किसान र सर्वसाधारणलाई असर गर्ने सरकारी नीतिहरूको विरोध गर्न केन्द्रीय ट्रेड युनियनहरूको संयुक्त फोरमले देशव्यापी हड्ताल आह्वान गरेको हो । 
बन्दलाई अखिल भारतीय बैंकका कर्मचारी संघले समर्थन गरेको छ । त्यस्तै बन्दमा सडक, ट्रान्सपोर्ट, बैंकिङ, रेलवे, विद्युत क्षेत्रमा काम गर्ने मजदुरले पनि साथ दिएको बताइएको छ । 

सार्वजनिक क्षेत्रका बैंकहरूलाई निजीकरण गर्ने सरकारको योजना र बैंकिङ कानून संशोधन विधेयक २०२१ को विरोधमा उत्रिएका बैकिङ युनियनहरु पनि हड्तालमा सहभागी छन् । भारतीय स्टेट बैंकलगायत धेरै बैंकहरूले सोमबार र मंगलबार बैंकिङ सेवाहरू प्रभावित हुनसक्ने ग्राहकहरूलाई जानकारी गराउँदै विज्ञप्ति जारी गरेका छन् । 
बैंकबाहेक हडतालमा स्टिल, तेल, दूरसञ्चार, कोइला, हुलाक, आयकर, तामा, बीमालगायतका अन्य क्षेत्रका श्रमिक सहभागी हुने अनुमान गरिएको छ । बन्दमा २० करोड मजदुरको एक्यबद्धता छ । रेलवे र रक्षा क्षेत्रका युनियनहरूले सयौँ स्थानहरूमा हडतालको समर्थनमा ठूलो ह्याली निकाल्ने अनुमान गरिएको छ । 

ऊर्जा मन्त्रालयले आज सबै राज्य सञ्चालित संस्थाहरु तथा अन्य निकायहरूलाई उच्च सतर्कतामा रहन र चौबीसै घण्टा विद्युत आपूर्ति र राष्ट्रिय ग्रिडको स्थिरता सुनिश्चित गर्न सुझाव दिएको छ । अस्पताल, रक्षा, र रेलवे जस्ता अत्यावश्यक सेवाहरूमा संलग्नहरूलाई बिजुली आपूर्ति सुनिश्चित गर्न  मन्त्रालयले एडभाइजरी जारी गरी निर्देशन दिएको छ ।

पश्चिम बंगाल सरकारले भारत बन्दको बावजुद सबै राज्य सरकारी कार्यालयहरू खुला रहने भन्दै सोमबार र मंगलबार कर्मचारीहरूलाई ड्युटीमा उपस्थित हुन अनिवार्य गरेको छ ।

Logo