बञ्चरेडाँडामा फोहोर फाल्दा स्थानीयको सरोकारलाई ध्यान दिन सरकारसँग आग्रह

बञ्चरेडाँडामा फोहोर फाल्दा स्थानीयको सरोकारलाई ध्यान दिन सरकारसँग आग्रह


नुवाकोटका स्थानीयवासीले सरकारसँग बञ्चरेडाँडाको डम्पिङ साइटमा फोहोर व्यवस्थापन गर्दा स्थानीयको सरोकारलाई ध्यान दिन अनुरोध गरेका छन्।

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतको नेतृत्वमा काठमाडौं आएको नुवाकोटको एक प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर यस्तो आग्रह गरेको हो। स्थानीय बासिन्दाले फोहररहित मानव बस्तीको अवधारणाअनुरूप फोहोर मैला व्यवस्थापन गर्न माग गर्दै आएका छन्। 

प्रतिनिधिमण्डलले नुवाकोटको जल्दाबल्दा समस्या तुरुन्त समाधान गर्न ज्ञापनपत्रमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा डा.महतले ककनी हुँदै नुवाकोट जाने बाटो ठेक्का लगाएको १० वर्षसम्म निर्माण पूरा नभई अलपत्र परेकाले जनजीवन कष्टकर भएको विषयलाई राखेका थिए।

उनले उक्त बाटोको निर्माण तत्काल पूरा गर्न प्रधानमन्त्रीले नै सम्बन्धित मन्त्रालय र विभागलाई निर्देशन गर्न आवश्यक भएको औंल्याए। पूर्वमन्त्रीसमेत रहेका डा.महत ककनीमा कांग्रेसले आयोजना गरेको प्रशिक्षणमा सहभागी भएर फर्कँदा स्थानीयले फोहोरमैला व्यवस्थापनको समस्या प्रधानमन्त्रीसमक्ष पुर्याउन अनुरोध गरेका थिए।

ज्ञापनपत्रमा नुवाकोटका विभन्न दुर्गम गाँउपालिकामा गुठी जग्गा दर्ता नभएर उत्पन्न भएको समस्या समाधन गर्न पनि माग गरिएको छ। नुवाकोटको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री देउवाले ज्ञापनपत्रमा उल्लेख गरिएका माग तत्काल पूरा गर्न सम्बन्धित निकायका प्रमुखलाई बोलाएर तुरुन्त कार्यान्वयन गर्न निर्देशन दिने प्रतिबद्धता व्यक्त गरेका छन्। 

Logo