१० घण्टापछि उठ्यो दिदीबहिनीको शव, टिपर कम्पनीले ४५ लाख दिने

१० घण्टापछि उठ्यो दिदीबहिनीको शव, टिपर कम्पनीले ४५ लाख दिने


बुधबार सुन्दरीजलमा टिपरको ठक्करबाट ज्यान गुमाएका दुई बालिकाको शव १० घण्टापछि उठाइएको छ। आज बिहान गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजलमा टिपरको ठक्करबाट २ बालिका दिदीबहिनीको ज्यान गएको थियो।  

दिउँसो स्थानीय प्रशासनको रोहवरमा आफन्त र टिपर कम्पनीसँगको छलफलपछि शव उठाइएको हो। टिपर कम्पनीले मृतकका परिवारलाई ४५ लाख रुपैयाँ दिने सहमति भएको छ। त्यस्तै घाइतेको उपचार पनि टिपर कम्पनीले नै गर्ने सहमति भएको हो। 

सहमतिपछि दुवै बालिका दिदीबहिनीको शव आफन्तले बुझेर लगेको गोकर्णेश्वर नगरपालिका १ का वडाध्यक्ष राम मानन्धरले जानकारी दिए। ठक्कर दिने टिपर कम्पनी सुन्दरी माई वासिङले ४५ लाख रुपैयाँ क्षतिपूर्ति र घाइते रोहन तामाङको उपचार गर्ने सहमति गरेका हुन्।  

त्यस्तै, गोकर्णेश्वर नगरपालिकाले पीडित परिवारका एक जनालाई नगरपालिकामा रोजगारी दिने र नगरपालिकाबाट समेत केही रकम उपलब्ध गराउने सहमति भएको छ। सहमतिपछि पीडित परिवारले दुवै जनाको शव बुझेर लगेका हुन् । 

आज बिहान ८ बजेतिर बुबा रोहन तामाङसँग मोटरसाइकलमा जाँदै गरेका ८ वर्षीया सृष्टि र ४ वर्षीया श्रेयाको टिपरको ठक्करबाट ज्यान गएको थियो। स्थानीय वर्ल्ड यूथ इन्टरनेसनल स्कुलमा सृष्टि २ कक्षामा र श्रेया नर्सरीमा पढ्ने दुवै जनाको घटनास्थलमै ज्यान गएको थियो। 

मेलम्ची चोक नजिकै ब्याक गर्दै गरेको बा४ख ६९६५ नम्बरको टिपरले उनीहरूलाई किचेको थियो। गम्भीर घाइते रोहनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ। 

घटनापछि आक्रोशित स्थानीय र आफन्तले टिपरमा आगजनी गरेका थिए। मेलम्ची चोकका स्थानीयले प्रदर्शनसमेत गरेका थिए। स्थिती नियन्त्रणमा लिन बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।  

Logo