जयनगर-जनकपुर रेलसेवा आजदेखि बिहान र दिउँसो दुई पटक संचालन हुने

जयनगर-जनकपुर रेलसेवा आजदेखि बिहान र दिउँसो दुई पटक संचालन हुने


जयनगर-जनकपुर-कुर्था रेलसेवा आजदेखि सुचारु हुने भएको छ । आइतबारदेखि रेल बिहान र दिउँसो दुई पटक यात्रु लिएर जयनगर-कुर्था खण्डमा चल्नेछ । नेपाल र भारत दुई देशका प्रधानमन्त्रीले संयुक्त रुपमा शनिबार उद्घाटन गरेपछि जयनगर-जनकपुर-कुर्था खण्डमा करिब ८ वर्षपछि रेलसेवा सुरु हुन लागेको हो ।

शनिबार भारतको नयाँदिल्लीस्थित हैदराबाद हाउसमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले हरियो झन्डा हल्लाएपछि जयनगरबाट नेपाली रेल धनुषाको कुर्थाका लागि प्रस्थान गरेको थियो । 

भारतको ठूलो जक्सन जयनगरदेखि नेपालको पूर्वपश्चिम राजमार्गको बर्दिबासमा जोडिएको ब्रोडगेज रेल्वेअन्तर्गत रेलले हाल जयनगरदेखि कुर्थासम्म यात्रु ओसार्नेर्छ । अनलाइन प्रविधिबाट रेलको टिकट उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

टिकटमा क्यूआर कोड हुनेछ । रेलमा यात्रा गर्ने यात्रुको टिकट अनलाइनबाटै जाँच गर्ने उपकरण टीटीलाई उपलब्ध गराइएको छ । जनकपुर–जयनगर ७० र कुर्था-जयनगर ९० रुपैयाँ भाडा कायम गरिएको छ । एसी बोगीमा भने जनकपुर-जयनगर ३ सय ५० र कुर्था-जयनगर ४ सय ५० रुपैयाँ भाडा तय गरिएको छ । रेल चलाउन २६ जना भारतीय प्राविधिक कर्मचारी आइसकेका छन् ।

पहिलो चरणमा ५९ नेपाली कर्मचारी राखिएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले बताए । २०७७ असोजमा दुवै रेल सेट भारताबाट जनकपुर ल्याइएको थियो । सञ्चालनको टुंगो नलाग्दा लामो समयसम्म रेल पालले छोपेर राखिएको थियो ।

एक पटकमा १ हजार ३ सय यात्रु बोक्ने क्षमता भएको रेलमार्फत दैनिक ५ हजार यात्रु जनकपुर आउजाउ गर्नेछन् । रेलमा मालसामान ढुवानी गर्ने सुविधा भने छैन । जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष महासेठले यात्रीसँगै मालसामान ढुवानी गर्ने बोगीसमेत थप्न माग गरे ।

१९९४ सालमा महोत्तरी जंगलबाट सखुवाको गोलिया काठ ओसार्न भारतले निर्माण गरेको जनकपुर रेल्वे महोत्तरीको विजुलपुराबाट भारतको जयनगर (५२ किलोमिटर) सम्म सञ्चालनमा थियो । २०५९ को बाढीले विग्ही पुल क्षतिग्रस्त भएपछि रेल सेवा जनकपुरदेखि-जयनगर (२९ किलोमिटर) मा खुम्चिएको थियो ।

न्यारोगेजमा यही रूटमा चलिरहेको पुरानो रेल बन्द भएपछि भारतको सहयोगमा ब्रोडगेज लिक निर्माण भएको थियो । त्यही लिकमा चलाउन नेपाल सरकारले दुई सेट डेमु रेल खरिद गरेको थियो । 

Logo