असोज १५ बाट आन्तरिक उडान, पदयात्रा र हिमाल आरोहण खोलिने (भिडियोसहित)

असोज १५ बाट आन्तरिक उडान, पदयात्रा र हिमाल आरोहण खोलिने (भिडियोसहित)


काठमाडौं ।

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले हिमाल आरोहण र पदयात्रा खुला गर्न सीसीएमसीमा प्रस्ताव पठाएको बताएका छन् ।

कोभिड–१९ संक्रमणको कारण लामो समय लकडाउन हुँदा पर्यटन क्षेत्र पूर्णरुपमा बन्द भएकोले यसलाई खुला गर्न पहिलो चरणमा कम वस्ती भएका क्षेत्रमा पदयात्रा गर्न र हिमाल आरोहण गर्न सीसीएमसीमा प्रस्ताव पठाएको बताएका हुन् । आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको पर्यटन क्षेत्रका सरोकारवालाहरुसँगको भर्चुअल मिटिङमा बोल्दै मन्त्री भट्टराईले चरणवद्ध रुपमा पर्यटन क्षेत्र खोल्ने नीति अनुसार पहिलो चरणमा हिमाल आरोहण र पदयात्रालाई खोल्न लागिएको बताए । उनले पर्यटन क्षेत्रलाई चलायमान बनाउँदै लैजानका लागि असोज १५ गतेभित्रमा आन्तरिक उडानलाई खोल्ने तयारी भइरहेको पनि उनको भनाइ छ ।

भिडियो :

पहिलो चरणमा उच्च पहाडी र पहाडी जिल्लामा २५ प्रतिशत उडान अनुमति दिएर आन्तरिक उडान सुरु गर्न लागिएको बताए । यस्तै पर्यटन क्षेत्रको प्रवर्धनका लागि अन्तर्राष्ट्रिय बजारमा पहुँच स्थापना गर्न पर्यटन बोर्डलाई विभिन्न मुलुकमा सेलहरु निर्माण गरेर काम गर्न निर्देशन दिइसकेको समेत बताए ।

त्यस्तै मन्त्री भट्टराईले अन्तर्राष्ट्रिय उडानको संख्या एयरलाइन्सको मागअनुसार थप गर्न लागिएको बताएका छन । उपप्रधानमन्त्री, परराष्ट्र मन्त्री, पर्यटन मन्त्री र श्रम मन्त्रीको बीचमा भएको छलफल पछि प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री इश्वर पोखरेलबीचको उच्च स्तरीय परामर्शबाट अन्तर्राष्ट्रिय उडानको संख्या थप गर्ने समझदारी भएको बताएका छन् ।

Logo