म्याग्दीमा पाँच दलले चुनावी तालमेल गर्ने

म्याग्दीमा पाँच दलले चुनावी तालमेल गर्ने


आगामी वैशाख ३० गते हुने स्थानीय तह चुनावमा म्याग्दीमा सत्ता गठबन्धनका पाँच दलले तालमेल गर्ने भएका छन् । 

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी जसपाका नेताहरुको बिहीबार बेनीमा बसेको संयुक्त बैठकले म्याग्दीका छवटै स्थानीय तहमा साझा उम्मेदवार बनाउने निर्णय गरेका हुन् । 

कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा खम्बिरको अध्यक्षतामा बैठक बसेको थियो । पाँच दलीय संयन्त्रकोतर्फबाट माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जाली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष कृष्णकुमार विश्वकर्मा, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष छवि विश्वकर्मा र जनता समाजवादीका अध्यक्ष देवेन्द्रबहादुर विश्वकर्मा सहभागी थिए । 

यसअघिको पहिलो बैठकले कांग्रेस सभापति गर्बुजाको संयोजकत्वमा गठन भएको पाँच दलीय संयन्त्रले वडा तहबाट सबै दलको शक्ति आंकलन र अनुमानित मत विवरण सङ्कलन गर्ने निर्णय गरेको थियो । कांग्रेसका सचिव पुनले सबै दलले वडा र पालिकाबाट सङ्कलन गरेको विवरणलाई केन्द्रित र विष्लेषण गरेर केन्द्रीय संयन्त्रले बनाउने विधिका आधारमा कहाँ कसको उम्मेदवार बनाउने निर्णय लिइने बताए । । 

‘कुन दलले कुन पालिकामा उम्मेदवार उठाउने भन्ने निर्णय गर्न बाँकी छ’, उनले भने, ‘सबै दलको सबै वडाबाट आएको रिपोर्टका आधारमा उम्मेदवारी बाँटफाँट गरिन्छ ।’ चुनावी तालमेल गर्न जिल्ला र पालिकास्तरीय संयन्त्र विस्तार गरेका छन् । 

विसं २०७४ को निर्वाचनमा कांग्रेसले बेनी नगरपालिकामा प्रमुख र तीन गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र १५ वटा वडामा अध्यक्ष जितेको थियो । माओवादी केन्द्रले सात वटा वडा जितेको थियो । एमालेले दुई गाउँपालिका अध्यक्ष, तीन गाउँपालिका उपाध्यक्ष र २३ वटा वडाध्यक्ष जितेको थियो । बेनी नगरको उपप्रमुख राप्रपाले जितेको थियो । 

बेनी नगरपालिका, मङ्गला र धवलागिरि गाउँपालिकामा कांग्रेस र माओवादीले तालमेल गरेका थिए । रघुगङ्गामा एमाले र माओवादी, बेनीमा एमाले र राप्रपाले तालमेल गरेका थिए भने मालिका र अन्नपूर्ण गाउँपालिकामा तालमेल भएको थिएन । 
 

Logo