नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको छैटौँ महाधिवेशन आजदेखि सुरु हुँदै

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको छैटौँ महाधिवेशन आजदेखि सुरु हुँदै


यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको छैटौँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ।

आजदेखि २९ गतेसम्म काठमाडौँ र ललितपुरमा हुने सम्मेलनमा देशभरिबाट १५ सय बढी प्रतिनिधि एवं पर्यवेक्षक सहभागी हुनेछन् । महाधिवेशन प्रचार–प्रसार समितिका संयोजक एवं महासंघका महासचिव सरोज सिटौलाले सम्मेलनमा सबै प्रदेशका यातायात मन्त्रीहरु सहभागी हुने बताए । 

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं रामशाहपथस्थित स्काइ दरबार बैंक्वेटमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ भने बन्दसत्र र निर्वाचनको कार्यक्रम ललितपुरको गोदावरीमा रहेको सनराइज हलमा हुनेछ । महासचिव सिटौलाले यो महाधिवेशनले अधिकार सम्पन्न यातायात प्राधिकरण स्थापनाको मागलाई बलियो साथ उठाउने बताए । 

सरकारले विभिन्न यातायात समितिहरु खारेज गरि यातायात ब्यवसायलाई कम्पनी मोडलमा लगे पनि आवश्यक नियम–नियमावली र कार्यविधि नबनाउँदा काम गर्न अप्ठेरो भएको यातायात ब्यवसायीहरुले गुनासो गर्दै आएका छन् । कार्यविधिको अभावमा दुर्घटनापछिको उपचार र बीमा दावी भुक्तानी लगायतको काममा विवाद देखिन थालेको छ । 

कोरोना महामारीका कारण लामो समयदेखि रोकिएको महाधिवेशन आइतबारदेखि काठमाडौंमा हुन लागेको हो । महासङ्घमा हाल देशभरका झण्डै ५०० यातायात कम्पनीहरु आवद्ध छन् । यो महाधिवेशनले नयाँ नेतृत्वसमेत निर्वाचित गर्नेछ । महासचिव सिटौलाले महासंघको नयाँ नेतृत्वको लागि आफू पनि उम्मेदवार बन्ने बताए। 

उनले यातायात ब्यबसाय र ब्यबसायीको हक हितको लागि लामो समय काम गरेकोले आफू निर्वाचित हुने विश्वाश ब्यक्त गरे। महासंघको महाधिवेशनले तीन वर्षको कार्यकालको लागि नयाँ नेतृत्वसहित पदाधिकारीहरु चयन गर्नेछ। महासंघको पाँचौँ राष्ट्रिय महाधिवेशन २०७४ माघमा चितवनमा सम्पन्न भएको थियो।

Logo